काठमाण्डौ । नेपाल बैंकर्स संघको अध्यक्षमा भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

संघको बिहीबार सम्पन्न ३३ औँ साधारणसभाबाट सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दाहाल अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागर निर्विरोध चयन भएका छन् । उनी यसअघि पनि संघको उपाध्यक्ष थिए।

सोही सभाले संघको कार्यकारिणी समितिका पाँचजना सदस्य पनि निर्विरोध निर्वाचित गरेको छ । सदस्यमा चयन हुनेहरुमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी छन् ।

यसका अलावा हाल संघको कार्यकारिणी समितिमा रहेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समेत सदस्य पदमा निरन्तरता पाएका छन् ।

सोही अवसरमा बैंकिङ क्षेत्रमा विशेष योगदान दिएबापत नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबी नेपाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र संघका अध्यक्षले संयूक्त रुपमा पाँडेको योगदानको कदर गर्दै सम्मान–पत्रप्रदान गरेका थिए ।