काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा डाकेको हो ।

सभामा गत आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुका लागि प्रस्ताव गरेको नगद लाभांश अनुमोदन हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभामा कर्मचारीका लागि दिइने भ्रमण भत्तासम्बन्धी विशेष प्रस्ताव पनि पारित हुनेछ । जसअनुसार रात बिताउनुपर्ने गरी नेपालभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ताबापत २ हजार ५०० तथा बास खर्चबापत दैनिक २ हजार रुपैयाँमा नबढ्ने गरी बिलबमोजिमको रकम भुक्तानी दिइने कम्पनीले प्रस्ताव गरेको छ ।

यसैगरी कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पूँजीमा लगानी गर्ने, साधै विद्युत् र ऊर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रास्ट्रक्चर सेयरिङ गर्ने प्रयोजनसमेतका लागि अन्य सेवामूल्क कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋणसमेत लगानी गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  पुस १४ गतेभित्र कायम सेयरधनीहरुमाध साधारणसभा र लाभांशका लागि योग्य हुनेछन् ।