काठमाण्डौ । मंसिरको दोस्रो सातादेखि नेप्से इन्डेक्सले युटर्न लिएपछि सेयर बजारप्रति लगानीकर्ताहरुमा आत्मबल बढिरहेको छ । बुलिस ट्रेण्डमा रहेको बजारमा आज नेपाल लाइफ इन्स्योरेन्सले बीमा कम्पनीहरुहको सेयर चलायमान बनाएको छ ।

मंसिरको दोस्रो सातामा लघुवित्तले बजारको रौनक थपिरहेका बेला हाल भने इन्स्योरेन्स सेक्टरमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । यसरी बुलिस बजारमा सेयरहरु सेक्टरवाइज चलायमान हुनु नेप्से इण्डेक्सले आगामी दिनमा गति लिनसक्ने संकेत रहेको जानकार दाबी गर्छन् । 

निकट समयमा नेपाल लाइफको लाभांश ५० प्रतिशत हाराहारीमा रिजर्भबाटसमेत दिइने हल्ला बजारमा चलेका कारण समेत आजमात्र सो कम्पनीको १० करोड रुपैयाँ बढी कारोबार सम्पन्न भयो ।

यो साता नेप्सेको बजार पूँजीकरणमा निकै दरिलो हिस्सा ओगटेका कम्पनीहरुको बोनस सेयर पश्चात् मूल्य समायोजन हुँदासमेत नेप्से इण्डेक्समा नकारात्मक असर नपर्नुसमेत बजार थप मजबुत बनिरहेको देखिन्छ । बैंकिङ उपसमूहमा लगानीकर्ताहरुको चार्म घटिरहेका बेला नेप्सेको अनलाइन कारोबार प्रणालीमार्फत् ऋणपत्रको कारोबारले समेत नियमित निरन्तरता पाइरहेको छ ।

साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७७ कम्पनीका १४ लाख ९१ हजार ४४ कित्ता सेयरका ६२ करोड २३ लाख ६३ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन नेप्से इण्डेक्स हिजोका तुलनामा ५.५३ अंकले वृद्धि भई ११ सय ६७ दशमलव ९५ अंक पुग्यो । आज नेप्सेको १२ उपसमूहमध्ये बैंकिङ,विकास बैंक,हाइड्रोपावर र वित्त उपसमूह नकारात्मक रहे भने बाँकी ८ उपसमूहमा हरियो पोतियो ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनी
आज नेपाल लाइफ इन्स्योरेन्सको मात्र १० करोड ६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएकोमा शिवम,सिद्धार्थ बैंक ऋणपत्र २०८२,एनएमबी बैंक र एसटीसीका क्रमशः ५ करोड रुपैयाँ , ४ करोड ८७ लाख रुपैयाँ, २ करोड ५४ लाख , २ करोड ४६ लाख रुपैयाँ रकम हाराहारीको कारोबार भयो । यसैगरी बाँकी हिमालयन डिष्ट्रीलरी लिमिटेड, सूर्य लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी,नागरिक लगानी कोष र नेपाल टेलिकम उत्कृष्ट कारोबार गर्ने १० कम्पनीमा पर्न सफल  रहे ।

सबैभन्दा धेरै कमाउने कम्पनी
आजको दिन सबैभन्दा धेरै शिवमका सेयरधनीहरु मालामाल बने । यो स्क्रिप्टमा ५.६७ प्रतिशतले वृद्धि हुँदै  एकैदिन २५ रुपैयाँ  प्रतिकित्ता कमाउन सफल रहे ।

सबैभन्दा धेरै गुमाउने कम्पनी
साताको कारोबारको दोस्रो दिन सोमबार माउन्टेन हाइड्रो नेपाल लिमिटेडका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाउन पुगे । यो कम्पनीको सेयरमूल्य ५.५५ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै गुमाउने यसै कम्पनीका सेयरधनीहरु बने ।