काठमाण्डौ । नेपाल टेलिकम र सडक विभागबीच सडक तथा दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ।

समझदारीपत्रमा एक कार्यक्रमका बीच सोमबार सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सडक विभागले द्रुतगतिमा देशभर सडक निर्माण तथा विस्तारकार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताका लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पुर्याइरहेको अवस्थामा नेपाल टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य आवश्यक देखिएको हो ।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मतसम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी–नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ ।

समझदारीअनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइनेछ । यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागतअनुसार गरिने शिल कोटेशन वा बोलपत्रबमोजिम निर्क्यौल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ ।

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारीपत्र र विद्यमान कानुनको अधीनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन/योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिनेछ ।