काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

 भिमसेन मन्दिर पुनर्निर्माणका लागि भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा आज एक समारोह बीच पुनर्निर्माण सरोकार समितिका अध्यक्ष  कृष्णलाल महर्जनलाई रु. ५० लाखको चेक हस्तान्तरण गरिएको हो ।

गत २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत स्थानीय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरी मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ । 

“हाम्रो सम्पदा हामी आफै बनाउन”भन्ने नाराका साथ काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक रु. ४,९३,००,०००।– (चार करोड त्रियानव्वे लाख) को अनुमानित लागतमा शुरु गरिएको  भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भई रहेको बताइएको छ । 

यसै क्रममा आज नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष  पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँण्डे मार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए ।