काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ आयोजना गरेको छ । 

सो कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए । 

आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढी सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुना–कुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको झाले बताएका कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको भनाई थियो । 

सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने वचन दिए । 

झाले भने–‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए । 

पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे । 

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए ।

कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरियो । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् ।सो अवसरमा पत्रकार श्रेष्ठले आप्mनो सफलताको कथा सुनाएकी थिइन् ।

कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए भने कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल,प्रशासन एवं मानव संसाधन प्रमुख सोनबहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीको समेत सहभागिता थियो । 

कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको हो ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा रू. १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।