काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स्को बीमाशुल्क(प्रिमियम) इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ ।

अनलाइनमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हस्ताक्षर गरे । सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमाशुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्ट मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् । 

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर करिब ८० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथापोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढीले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

२०५८ सालमा पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको नेपाल लाइफ इस्योरेन्स् प्रथम अग्रणी जीवन बीमा कम्पनी हो । कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सय वटा शाखा तथा उपशाखामार्फत  सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।