काठमाण्डौ । नेपाल वायुसेवा निगमले शुक्रबार एकैपटक थुप्रै कर्मचारीलाई दरखास्त आह्वान गरेको छ। 

निगमले सहायकदेखि सिनियर क्याप्टेनसम्म खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । निगमले सबै पदमा गरी १५९ कर्मचारी पदपूर्ति गर्न लागेको हो । 

निगमले सबैभन्दा धेरै सहायक पदमा ३४ जना र लेखा सहायकमा दुईजना कर्मचारीका दरखास्त आह्वान गरेको छ । यी दुवै पदका लागि एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ । 

त्यस्तै वरिष्ठ सहायक पदमा १५ जना र वरिष्ठ लेखा सहायक पदमा ८ जना खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ । वरिष्ठ सहायकका लागि प्रमाणपत्र तह वा प्लस टु तथा वरिष्ठ लेखा सहायकमा वाणिज्यशास्त्रमा प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । 

यसैगरी प्रशासन अधिकृत २१ र लेखा अधिकृत ६ जनाका लागि दरखास्त खुलाइएको छ । प्रशासन अधिकृतका लागि स्नातक तह र लेखा अधिकृतका लागि वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ । 

निगमले सिनियर क्याप्टेन २० र जुनियर क्याप्टेन १४ जना पदपूर्ति गर्ने भएको छ । निगमले सिनियर को–पाइलट पनि १३ जनाका लागि दरखास्त आह्वान गरेको छ । 

निगमले वरिष्ठ प्राविधिक अधिकृत (अटोमोबाइल), वरिष्ठ प्राविधिक अधिकृत, अपरेसन्स इन्जिनियर, आईटी (कम्प्युटर सफ्टवेयर) इन्जिनियर, सिनियर जीईओ, वरिष्ठ प्राविधि (इलेक्ट्रिक), वरिष्ठ प्राविधिक (अटोमोबाइल), वरिष्ठ प्राविधि (एभियोनिक्स) र वरिष्ठ प्राविधि (ए एन्ड सी) मा पनि थुप्रै कर्मचारीहरु पदपूर्ति गर्ने भएको छ । 

अन्य विस्तृत जानकारी निगमको वेबसाइट www.nepalairlines.com.np  मा गएर हेर्न सकिनेछ ।  

इच्छुक उम्मेदवारले काठमाण्डौको न्युरोडस्थित निगमको केन्द्रीय कार्यालय काठमाण्डौमा २१ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ । दरखास्त फाराम निगमको माथि उल्लेखि वेबसाइटबाट डाउन लोड गर्न सकिनेछ ।