काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकबाट पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धी निर्देशिका, २०१७ को दफा १२ अनुसार ‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दाबचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोष राख्नुपर्ने भन्ने नियामक व्यवस्थाअनुसार आर्थिक वर्ष २०७५/७६ का वित्तीय विवरणमा सेयरधनीहरुलाई नगद लाभांश तथा बोनस सेयर वितरणको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ।

कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिले स्वीकृत गरेको पत्र साउन ७ गते प्राप्त भएको जानकारी पनि बैठकमा गराइएको थियो। 

यो कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म १ अर्ब ६० करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो। कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। यो कम्पनीको सेयर दोस्रो बजारमा झन्डै १ महिनादेखि कारोबारमा आएको छ।