काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमीटेडले निश्कासन गरेको आइपीओमा लगानीकर्ताको हारालुछ भएको छ । यो कम्पनीले निश्कासन गरेको आइपीओमा पहिलो दिन नै मागभन्दा २.३५ गुणा आवेदन परेको हो । 

नेपाल हाइड्रो डेभलपर लिमीटेडले साउन २७ देखि १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड ९० लाख बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको थियो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार पहिलो दिन नै ८ हजार १ सय ९१ आवेदकबाट ८ करोड ५२ लाख बढीको प्रस्ताव परेको छ । 

इच्छुक लगानीकर्ताले साउन ३२ गतेभित्रमा आस्वामार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

कुल निश्कासित आइपीओमध्ये १९ हजार ५ सय म्युुचुुअल फण्डहरुका लागि र  ७ हजार ८ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६२ हजार ७ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ । 

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड फोर रेटिङ’ प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको आधारभूत बित्तीय अवस्था निकै कमजोर छ भन्ने पनि हो । यसर्थ, आइपीओ भन्दैमा कुरा नबुुझी धेरै पैसा फसाउनु गलत हुनेछ । 

धितोपत्र बोर्डले पछिल्लो समय आइपीओमा साना लगानीकर्ता ठूलाबाट प्रताडित भएका भन्दै सबै आवेदकलाई प्रति कित्ता १० का दरले अनिवार्य सेयर पाउने व्यवस्था गरेको छ । यो कम्पनीको आइपीओमा समेत यही व्यवस्था लागू हुनेछ । प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गर्दा समेत सेयर कित्ता बाँकी रहे त्यसको बाँडफाँड चिठ्ठाको माध्यमबाट गर्न सकिने व्यवस्था छ । 

यो जलविद्युत कम्पनीले गत मंसिरमा दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ६० हजार कित्ता सेयर आइपीओ गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि निश्कासन हुने आइपीओको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी २६  करोड रुपैयाँको उचाईमा पुुग्नेछ । 

यो कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत आयोजना निर्माण गरी संचालन गरिरहेको छ ।