काठमाण्डौ । देशमा संचालित जीवन बिमा कम्पनीमध्येकै टप तथा बिमा बजारको हटकेक नेपाल लाइफ इन्स्योरेन्सले विमाङकीय मूल्याङ्कन अगाडि ४१ करोड ६५ लाख खूद नाफा कमाएको छ । 

अघिल्लो वर्ष विमाङकीय मूल्याङ्कन अगाडिको यस्तो नाफा ३२ करोड ७७ लाख रुपैयाँ थियो । यो हिसाबले नेपाल लाइफले विमाङकीय मूल्याङ्कन अगाडिको नाफामा २७ प्रतिशतको प्रगति हासिल गरेको देखिन्छ । 

गत वर्ष यही अवधिमा विमाङकीय मूल्याङ्कनपछिको कुल नाफा ९० करोड ६६ लाख रहेको थियो । आर्थिक वर्ष २०७३/७४ को विमाङकीय मूल्याङ्कन प्रक्रियामा रहेकाले कुल नाफा भने अझै आइसकेको छैन । 

विमाङकीय मूल्याङ्कन अगाडिको नाफामा भएको प्रगतिलाई आधार मानेर हेर्दा समेत यो बिमा कम्पनीको कुल नाफा( विमाङकीय मूल्याङ्कनपछिको) १ अर्ब माथि पुुग्ने देखिन्छ । 

नेपाल लाइफले समीक्षा अवधिमा १२ अर्ब ५ करोड बढी खूद बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड थियो । 

पुनर्बीमा कमिसनबाट २ करोड, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ४९ करोड, बिमालेख धितोकर्जाबाट ५१ करोड २६ लाख आम्दानी गरेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफले २ अर्ब ८६ करोड दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिसनबापत १ अर्ब २२ करोड खर्च भएको छ भने यो अवधिमा आयकर मात्रै २४ करोड तिरेको छ । 

हालसम्म नेपाल लाइफले कुल बिमा शुल्कतर्फ ५२ अर्ब ३७ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा भने कुल बिमा शुल्कतर्फ १२ अर्ब २१ करोड आर्जन गरेको छ । यो कम्पनीमा बिमालेखको संख्या १० लाख ४१ हजार पुुगेको छ । 

समीक्षा अवधिमा नेपाल लाइफको जीवन बिमा कोषमा ४० अर्ब २८ करोड जम्मा भएको छ । अघिल्लो वर्ष यो अवधिमा जीवन बिमा कोषमा ३१ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । 

नेपाल लाइफले आफ्नो जगेडाकोषमा ४६३ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको यो अवधिमा ८४ करोड रहेको यस्तो कोषमा समीक्षा अवधिमा ४ अर्ब ७४ करोड जम्मा भएको हो । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । 

यो अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी १३.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६०.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५९.६७ गुणा कायम भएको छ । विमाङकीय मूल्याङ्कन पछि हुने कुल नाफा तथा हिसाबकिताब आउन बाँकी रहेकोले त्यसपछिको प्रतिसेयर आम्दानी र अन्य सूचकमा आमूल सुधार हुने निश्चित देखिन्छ ।