काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना लगानीकर्तालाई २० प्रतिशत नगद र २० प्रतिशत सेयर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

शुक्रबार सम्पन्न संस्थाको छैठौ वार्षिक साधारणसभाले कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

सो वार्षिक साधारणसभाले वाणिज्य बैंक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न उमंग शर्मा (प्रतिनिधि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड),  अनुपमा खुञ्जेली(प्रतिनिधि मेगा बैंक नेपाल लिमिटेड) र  उज्वल राजभण्डारी(प्रतिनिधि हिमालयन बैंक लिमिटेड)लाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै विकास बैंक र वित्तकम्पनी समूहहरुबाट संचालक समितिमा प्रतिनिधत्व गर्न क्रमशः प्रद्युम्न पोखरेल (प्रतिनिधि मुक्तिनाथ विकास बैंक लिमिटेड)र सुनील पन्त(प्रतिनिधि आई.सी.एफ.सी. फाइनान्स लिमिटेड)लाई निर्विरोध निर्वाचित गरेको छ ।

आ.ब. २०७३/७४ मा कम्पनीले संचालन नाफा रु. २१,१०,३१,२११ र खुदनाफा रु. १३,१९,४५,३५५ गरेको छ । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्तापूँजी १८ करोड हुनेछ । कम्पनीमा १०% नेपाल राष्ट्र बैंकको, ८०% बैंक तथा वित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.को शेयर स्वामित्व छ ।

हाल ८३ सदस्य बैंक तथा वित्तीय संस्थाका ३,१८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको विद्युतीय भुक्तानी प्रणालीमार्फत राफसाफ हुँदै आएको छ । गत आर्थिक वर्षको तुलनामा आ.व. २०७३÷७४ मा चेक राफसाफमा ३६५ ले वृद्धि भई कम्पनीले कुल ९९,५१,२६९ चेक राफसाफ गरेको थियो । सो आ.व.मा दैनिक औसत रु.२३ अर्ब रकम बराबरको दैनिक ४३,३२६ चेकको राफसाफ गरेको थियो । 

यसैगरी, २०७४ साल भाद्र १ गतेबाट संचालनमा आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट आ.व. २०७३/७४ मा कुल कारोबारको संख्या ४,९४,३१९ रहेको थियो । उक्त आ.व.मा दैनिक औसत रु.१.५ अर्ब रकम बराबरको दैनिक २,४१३ कारोबार भएको थियो । 

सो प्रणालीमा हाल ६६ बैंक तथा वित्तीय संस्थाहरु डाइरेक्ट मेम्बर तथा ७ अन्य संस्थाहरु इन्डाइरेक्ट मेम्बर तथा टेक्निकल मेम्बरको रुपमा आबद्ध छन् ।