काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित राष्ट्रहरुका लागि प्रविधि बैंकको सञ्चालन र भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका लागि अन्तर्राष्ट्रिय विचार मञ्च नेपाललगायत देशहरुलाई विकास र समृद्धिका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । 

संयुक्त राष्ट्र संघका उपमहासचिव फिकितामोएला कातोआ उत्तोइकामानुसँगको आजको भेटमा उहाँले जलवायु परिवर्तनले हिमाली र साना टापुका विकासोन्मुख राष्ट्रको अस्तित्वमै प्रभाव पार्ने भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासबाट त्यसको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा अल्पविकसित राष्ट्रहरुको उच्च प्रतिनिधि उत्तोइकामानुले टर्कीमा प्रविधि बैंक र मंगोलियामा अन्तर्राष्ट्रिय विचार मञ्च स्थापना त्यसतर्फको महत्वपूर्ण पाइला हुने बताउनुभयो । त्यसअघि उहाँले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडासँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो अवसरमा अर्थमन्त्री डा खतिवडाले राष्ट्र संघले विकासोन्मुख एव भूपरिवेष्ठित राष्ट्रका पक्षमा आवाज उठाउँदै आएको बताउँदै विभिन्न राष्ट्रले खडा गर्ने व्यापार अवरोध हटाउनका लागि दवावमूलक भूमिका खेल्न पनि अनुरोध गर्नुभयो । राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्यलाई नेपालले आफ्ना कार्यक्रम र बजेटमार्फत आन्तरिकीकरण गरेको जानकारी दिँदै उहाँले राष्ट्र सङ्घले स्थापना गरेको प्रविधि बंैकबाट नेपालले फाइदा लिन सक्ने अपेक्षा गरेको बताएको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री डा खतिवडाले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइसकेपछि आर्थिक र सामाजिक क्षेत्रमा कुनै नकारात्मक असर नपर्ने गरी स्तरोन्नति गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिनुभएको थियो । उपमहासचिव उत्तोइकामानुले नेपालले सफलतापूर्वक राजनीतिक संक्रमणकाल र भूकम्प एवं बाढीजस्ता प्राकृतिक विपत्तिको सफल एवं उदाहरणीय व्यवस्थापन गर्न सफल भएकामा प्रशंसा गर्नुभयो ।