काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई २ करोड ६० लाख मूल्य बराबरको २ लाख ६० हजार कित्ता सेयर आइपीओ गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । 

यो आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र आउन लागेको हो । 

नेपाल हाइड्रो डेभलपर लिमीटेडले ३.५२ मेगावाट क्षमताको चरनावती हाइड्रो इलेक्टिकल प्रोजेक्ट निर्माण गरिरहेकोछ । यो प्रोजेक्ट दोलखा जिल्लामा अवस्थित छ । यो कम्पनीले सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट पूँजी संकलन गरी देशका अन्य क्षेत्रमा समेत जलविद्युत आयोजनाहरु संचालन गर्ने लक्ष्य लिएको छ । 

यो कम्पनीमा हाइड्रो सोलुसन, केएल दुगड ग्रुप र देवनरा ग्रुपको मुख्य सेयर स्वामित्व रहेको छ । एनएमबी क्यापिटल आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार आइपीओका लागि आवेदन तिहारअघि नै खुलाइनेछ । 
नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल हाइड्रोको आइपीओलाई ग्रेड ४ को र्याङ्क प्रदान गरेको छ । 

यो प्रोजेक्टबाट वार्षिक रुपमा ३७.२९ गिगावाट विद्युत उत्पादन हुने बताइएको छ । यो कम्पनीको जारी पूँजी २६ करोड रुपैयाँको रहेको छ । 

आइपीओ जारीपछि कम्पनीमा प्रोमोटर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको सेयर स्वामित्व ७५, १० र १५ प्रतिशत कायम हुनेछ । 

यसैबीच, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेड  पनि धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ । नेपालकै उत्कृष्ट यो माइक्रोफाइनान्स कम्पनीले ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको हो । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओको निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । सुनसरीको दुहबीमा रहेको यो माइक्रो फाइनान्सले सन् २००२ देखि ग्रामीण क्षेत्रमा बैकिङ सेवा प्रवाह गरिरहेको छ । यो माइक्रोफाइनान्स धेरैपटक उत्कृष्ट माइक्रोफाइनान्सको पुरस्कार समेत पाइसकेको छ । यो माइक्रो फाइनान्सले पूर्वका विभिन्न जिल्लामा पछाडि पारिएका महिला, दलित, पिछडा समुदायका महिलाहरुको आर्थिक अवस्थामा सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो संस्था एमाले सांसद भगवती चौधरीले स्थापना गरेकी हुन् ।