काठमाडौं। नेपाल बैंक लिमीटेडले निश्कासन गर्न लागेको एफपीओको मूल्य तोकेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहका अनुसार प्र्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता एफपीओको मूल्य २८० रुपैयाँ तोकेको हो । 

सीइओ शाहका अनुसार संचालक समितिले एफपीओको मूल्य टुङ्ग्याएको छ । नेपाल बैंकको एफपीओको यो मूल्यको बिषयमा अण्डरराइट गर्ने मर्चेन्ट बैंकहरुले समेत सहमति जनाइसकेका छन् । ‘८ वटा भन्दा बढी मर्चेन्ट बैंकहरुले एफपीओ सोही मूल्यमा अण्डरराइट गर्ने सहमति गरिसकेका छन् ।’ सीइओ शाहले भने–‘अब उनीहरुसँग बसेर अण्डरराइटको सम्झौता गर्छौ र त्यसपछि एफपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिन्छौ ।’ 

बैंकले एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ । 

बैंकले २८० रुपैयाँको दरले १ करोड ७६ लाख कित्ता एफपीओ निश्कासन गर्नेछ । 

एफपीओपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोडको उचाईमा पुग्नेछ भने प्रिमियमबाट संकलित ३ अर्ब १६ करोड ८० लाख रुपैयाँ जगेडाकोषमा जम्मा हुनेछ । 

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपीओपछि सेयर स्वामित्व संरचना परिवर्तन भई सरकारको ५१ प्रतिशतमा सीमित हुनेछ । एफपीओ खरीद गर्नेहरुको सेयर स्वामित्व १७ प्रतिशत हुनेछ । 

यो बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ रहेको छ । 

*यसअघिको समाचारमा नेपाल बैंकका सीइओको नाम अन्यथा भएकोले सच्याइएको छ ।