काठमाण्डौ । कुनै पनि सूचिकृत कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरणले उसको दोश्रो बजार मूल्य प्रभावित हुने गर्छ । सोमबार बिहान नेपाल बैंकले समेत आशालाग्दो वित्तीय विवरण प्रकाशित गरेको थियो । जसको सोझो प्रभाव उसको दोश्रो बजार मूल्यमा परेको देखिएको छ । 

आइतबार नेपाल बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता २८१ रुपैयाँ रहेको थियो । सोमबार भने उसको प्रगति विवरणको प्रभावले मूल्य ह्वात्तै बढेको देखिएको छ । 

सोमबार नेपाल बैंकको सेयर मूल्यमा एकैदिन ९ रुपैयाँले बढेको देखिएको छ । यो दिनको अन्तिम बजार बिक्री मूल्य प्रतिकित्ता २९० रुपैयाँ कायम भएको छ । बैंकको मूल्यमा एकैदिन ३.२० प्रतिशतले बढेको देखिएको हो । 

नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशन गरेको हो । अघिल्लो वर्षको भन्दा खूद नाफातर्फ ९.०४ प्रतिशतको प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ११ करोड खूद नाफा कमाएको थियो ।

बैंकले रिजर्ब कोषतर्फ छलांग मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ४० करोड रहेको रिजर्बको आकार बढी ६ अर्ब ८० करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ४ अर्ब २१ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा  २ अर्ब ९६ करोड रहेको थियो । 

अघिल्लो वर्षसम्म ३.३२ प्रतिशत रहेको खराबकर्जा असूलीमा व्यवस्थापनले ध्यान दिंदा त्यो घटेर २.९ प्रतिशत कायम भएको छ । 

बैंकको प्रतिसेयर आम्दानी समेत बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी बढेर ४२.२७ रुपैयाँको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ३८.७७ रुपैयाँ रहेको थियो ।