काठमाण्डौ । नेपाल बैंकको एफपीओमा आइतबार साँझसम्म २ अर्ब ७४ करोड बराबरको आवेदन परेको छ । 

बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २३ हजार ८ सय आवेदकबाट २ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

बैंकको एफपीओ ५५.३५ प्रतिशत बिक्री भएको साँझसम्मको तथ्यांकले देखाएको छ । यसको अन्तिम तथ्यांक भने सोमबार बिहानसम्म मात्र आउने छ।

बैंकको एफपीओमा कर्मचारी सञ्चयकोषले मात्रै १ अर्ब बराबरको आवेदन दिएपछि आवेदन रकम ह्वात्तै बढेको हो । शुक्रबारसम्म बैंकको एफपीओमा ६८ करोड ६३ लाखको हाराहारीमा मात्र आवेदन परेको थियो । 

यो बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले निश्कासन गरेको हो । 

बैंकले कुल १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो। 

आइतबार सबै कित्ता बिक्री नहुने देखिइसकेको छ । अब बैंकका संस्थापक सेयरधनी र तिनका परिवारले आवेदन दिन पाउने गरी एफपीओको बिक्री खुल्ला हुने बैंकको भनाई छ । त्यसपछि पनि पूरै आवेदन नपरे अण्डरराइट गर्ने मर्चेन्ट बैंकहरुले नबिकेको कित्ता सकार्नुपर्नेछ । 

बैंकले असार १५ देखि एफपीओ निश्कासन गरेको थियो । छिटोमा असार १९ गतेसम्म आवेदन दिनुपर्ने भए पनि बिक्री नभएपछि त्यसको म्याद बढाई ढिलोमा  साउन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो । असार २० गतेदेखि बैंकको एफपीओमा संस्थागत लगानीकर्ताको आवेदन समेत खुल्ला गरिएको थियो । 

यो कम्पनीको आइतबारको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य  प्रतिकित्ता २८९ रुपैयाँ रहेको छ । 

बैंकले यो आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई सहजै २५ प्रतिशतसम्म बोनस सेयर वितरण गर्नसक्ने हैसियत बनाएको छ ।