काठमाण्डौ । नेपाल बैंक लिमीटेडको एफपीओ नबिकेपछि सकारेका प्रत्याभूत गर्ने मर्चेन्ट बैंकरहरुले गरेको गम्भीर गल्तीलाई धितोपत्र बोर्डले सामान्य रुपमा विश्लेषण गर्दै आइन्दा त्यस्तो गल्ती नगर्ने शर्तमा माफी दिएको छ । 

बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल बैंकको बिक्री नभएको एफपीओ प्रत्याभूतिकर्ताहरुले स्वीकार गरी आफ्नो खातामा आएपछि मात्र बिक्री गर्नुपर्नेमा सो नगरी अन्य संस्था तथा व्यक्तिहरुलाई बिक्री गरेको देखिएको भन्दै त्यस्तो गम्भीर गल्ती गर्नेलाई सचेत गराएर मात्र छाडेको हो । 

मर्चेन्ट बैंकरहरुले गरेको गम्भीर गल्तीलाई सामान्य सचेत गराई माफी दिएको बोर्डले आफैंले एफपीओ स्वीकृत गर्दा भएको गम्भीर गल्तीको बिषयमा भने कुनै आत्मसमीक्षा गरेको छैन । यसले समेत यो गम्भीर प्रकरणलाई बोर्डले आलटालमै सल्टाउन खोजेको प्रष्टिन्छ । 

बोर्डले नेपाल बैंकको एफपीओ अण्डरराइट गर्ने ८ मर्चेन्ट बैंकहरुलाई पहिले आफ्नो खातामा सेयर जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न र  आगामी दिनमा समेत यही व्यवस्था कार्यान्वयनमा ल्याउन अन्य सरोकारवालाई समेत निर्देशन दिएको छ । 

बोर्डले सिद्धार्थ क्यापिटल लिमीटेड, ग्लोबल आइएमई क्यापिटल लिमीटेड, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, सिविआइएल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडलाई गल्ती नदोहोर्याउन भन्दै पत्र काटेर सचेत  गराएको हो । 

यी आठै वटा मर्चेन्ट बैंकरले  नेपाल बैंकको नबिकेको एफपीओ सकारेर नक्कली बजार खडा गरी गैरकानूनी रुपमा सेयर तेश्रो पक्षलाई बेचेका थिए । बोर्डले समेत यी ८ वटाको गैरकानूनी धन्दालाई सो बेला बैधता दिएको थियो । तर, बोर्डले सो बेला केको आधारमा उनीहरुलाई कृत्रिम बजार तयार गरी यस्तो गैरकानूनी काम गर्ने अनुमति दियो भन्ने बिषय चाहि बोर्डको लिखित निर्देशनपछि पनि अन्यौलमै छ।