-भक्तराज रसाइली
काठमाण्डौ । नेपाली पूजी बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवातसँगै लगानीकर्ताहरुलाई कारोबार गर्न सहज होला भन्ने आशा थियो । तर, पूर्ण अनलाइनको व्यग्र  प्रतिक्षारत लगानीकर्ताहरुलाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ । नेप्सेले निकै ठूलो खर्च गरी कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई समेत कतिपय लगानीकर्ताले अनलाइनको पुरानो सिस्टमसँग तुलना गर्दै थोत्रो रेलसम्म भन्न भ्याए । 

नेप्सेको अनलाइन प्रणालीप्रति लगानीकर्ताको शंका उपशंका जायजै देखिन्छ । कारण, अनलाइन प्रणाली निकै तामाझामका साथ लञ्च गरिएकै दिन प्रणालीले काम गरेन भने आइतबार समेत त्यो नियति दोहोरियो । आइतबार समेत २ घण्टासम्म एकदर्जन बढी ब्रोकरले कारोबार गर्न पाएनन्(सकेनन्) । 

ब्रोकरको लगइन पनि नखुलेको र मोफसलमा पनि आर्डब्लुएसबाट लगइन नभएको ब्रोकर बताउँछन् । 

बैंक खाता नम्बर पनि १५ वटा डिजिट मात्रै हुनुपर्ने सिस्टममा देखाउँछ, तर कुनै बैंकको त्यो भन्दा बढी नम्बर हुनसक्ने सामान्य बिषयलाई समेत नेप्सेको प्राविधिक टिमले ध्यान नदिएको भुक्तभोगी ब्रोकर बताउँछन् । 

अनलाइन ल्याउनुअघि कार्यान्वयनमा ल्याइएको मक टेस्टिङ्गलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा हतारमै अनलाइनको लञ्च गरिएकोले लगानीकर्तासँगै आफूहरु पनि अलमलमा परेको कतिपय ब्रोकरको दाबी छ । यसतर्फ नेपाल धितोपत्र बोर्डको पनि ध्यानाकर्षण हुनुपर्ने कतिपय लगानीकर्ताको भनाई छ । 

तामझामको साथ कार्यान्वयनमा ल्याइएको अनलाइन प्रणाली थोत्रो रेल झै किन बिग्रिरहेको छ ? किन काम गरिरहेको छैन ? यसको कारण के हुनसक्छ ? हामीले बजारसँग सरोकार राख्ने केही व्यक्तिको भनाई समेट्ने प्रयास गरेका छौ । हेरौं उनीहरु के भन्छन्:

चन्द्रसिंह साउद(सीइओ)-नेप्से 
हामीबाट आज भएको त्रुटि स्वीकार्छौ । आज डाटा सेन्टरको सर्भर पनि डाउन भएको थियो । नयाँ प्रविधि भएकोले त्रुटि आउन सक्छ । भोलिदेखि यस्तो त्रूटि नहुने सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु । क्लाईण्ट कोड अपडेट नभएर र केवाईसीमा व्यक्तिगत विवरण छुट्न गएको र पूर्ण विवरण नभएको हाम्रो ठम्याई छ । केवाईसी अपडेट क्लाईण्टले गराउन अनुरोध गर्दछु । सबै लगानीकर्ताहरु अभ्यस्त रहनु होला र भोलि यस्तो समस्या नआउने वचन दिन्छु । 

सन्तोष मैनाली-ब्रोकर नम्बर ३६
म्याचिङ्ग भएको हो, तर सानातिना समस्या छन् । डिस्प्ले ईरर र ब्रोकरको लगइनमा समस्या भयो । अस्तिसम्म केवाइसी अपडेट भएकै लगानीकर्ताहरु हुन्, आज सेयर खरिदबिक्री गर्ने पनि । यद्यपि  २ दिनमा नयाँ कोही आएनन् भन्ने हाम्रो बुझाइ छ । 

नवराज सुवेदी(अध्यक्ष)-नेपाल पूँजी बजार संघ 
नयाँ प्रविधिको त्रुटीलाई समाधान गर्दै जानुपर्ने हुन्छ । तथापि केही सेयर माफियाहरुको बजार रिमोट सबै लगानीकर्ताको हातमा जाने भयो भन्ने त्रासले असफल बनाउने प्रयास भइरहेकोप्रति सबै सजग बन्नुपर्छ ।  जे भए पनि मार्केट प्रविधिमैत्री बन्दै जानु राम्रो कुरा हो । यसले आगामी भविष्य सुन्दर रहेको देखाउँछ र यो प्रणाली सफल बनाउन सबैको भूमिका रहन्छ । 

ऋषिराम गौतम-सेयर लगानीकर्ता 
नेप्सेले नयाँ सिस्टममा पुरानो डाटा हाल्न नसकेको जस्तो छ ।वेबसाईट पनि पुरानैमा काम गरेर मिलाउँदै बसेका छन् के हो ? के नयाँ सिस्टममा त वेबसाईट पनि नयाँ हुनु पर्ने के गर्न खोजेको हो, बुझ्नै सकिँन । आज दिनभरि त त्यही पुरानै वेबसाइट मिलाउन खोजिएको जस्तो देखियो, यो त साह्रै आलोकाँचो काम भयो ।  एउटा दुरुस्त क्लोनिङ्ग गरेर टेष्ट गरेको भए १ मिनेट पनि समस्या हुन्न थियो ।