काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा समस्या आएको स्वीकार गर्दै नेपाल स्टक एक्सचेञ्जले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । 

प्रवक्ता मुराहरी पराजुलीले एक विज्ञप्ति प्रकाशित गर्दै आइतबार कारोबारका क्रममा केही समस्या देखिए पनि नेप्सेको तर्फबाट त्यसको समाधान भइसकेको भन्दै स्पष्टीकरण दिएका हुन् । 

‘नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले सामना गरेको मुख्य समस्या कारोबारको विवरण रियल टाइममा हेर्न नपाउने थियो ।’ विज्ञप्तिमा भनिएको छ–‘यो समस्या कारोबार प्रणालीसँग नभई कारोबारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या हो । नेप्सेको कारोबार प्रणाली र वेभसाइट छुट्टा छुट्टै डेटा सेन्टरमा सञ्चालन हुन्छ ।’ 

नेप्से कारोबार प्रणालीमा भएको विवरण अप्लीकेसन प्रोग्राम इन्टरफेस(एपीआई)मार्फत नेप्से वेभसाइटमा डिस्प्ले गर्दा डेटा एक्सचेञ्जमा केही समस्या भएको हुँदा कारोबार विवरण पठाउन नसकिएकोले सर्वसाधारणले वेबसाइटबाट अद्यावधिक सूचना प्राप्त गर्न नसकेको र हाल उक्त समस्या निराकरण भइसकेको नेप्सेको दाबी छ । 

नेप्सेले सूरुदेखि नै संसारभर प्रचलित भ्यालू वेटेड इण्डेक्स विधि अनुरुप परिसूचक गणना गरी प्रचलनमा ल्याएको र नयाँ कारोबार प्रणाली स्थापनापछि पनि बजार परिसूचक गणना विधिमा परिवर्तन परिवर्तन नगरिएको नेप्सेको भनाई छ । 

नेप्सेले नयाँ प्रणालीमा प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा अविछिन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकरभन्दा फरक समयमा सम्पर्क स्थापित गरेको लगायतको कारणले केही लगानीकर्ताले एउटा ब्रोकरमा देखिरहेको मूल्य र अर्को ब्रोकरमा देखिरहेको  मूल्य फरक पर्न गएको स्पष्टीकरण दिएको छ । 

‘नेप्सेले लगानीकर्ताले मागेजस्तो तत्कालै राफसाफ तथा फछ्र्यौट हुने संभावना तत्काल नरहेको स्पष्ट पारेको छ । क्लियरिङ बैंकले रकमको विद्युतीय स्थानान्तरणलाई सहज बनाएको अवस्थामा मात्र तत्काल राफसाफ र फछ्र्यौट संभव हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ–‘हाल नेप्सेसँग आबद्ध ४ वटा क्लियरिङ बैंकमध्ये एउटाले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गरिरहेको छ । नेप्सेले विद्यमान सबै क्लियरिंग बैंकलाई यो सुविधा प्रदान गर्न  आह्वान गरिसकेको छ भने अरु बैंकहरुले पनि यो व्यवसायिक अवसरलाई बुझेरमा यसमा प्रवेश गर्ने छन् भन्ने अपेक्षा गरिएको छ ।’