काठमाण्डौ । नेप्सेले विश्वगुणस्तर भनी लञ्च गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा कसरी खेल्न मिल्छ भन्ने कुरा सोमबारको केही मिनेटमा देखिएको छ । 

नेप्सेको वेबसाइटमा लगानीकर्ताको बहिस्कारका बीच एकाएक सेयर कारोबार भएको देखियो, यो बेला करिब १२ बजिसकेको थियो । 

सो बेला १० कम्पनीको १७ वटा कारोबारमार्फत २ हजार ७६ कित्ता सेयर ८ लाख ७३ हजार ४ सय ९ रुपैयाँमा किनबेच भएको वेबसाइटमा डिस्प्ले भएको देखियो ।

सो बेलासम्मको नेप्से परिसूचक ०.८ अंकले घटेको देखाइएको थियो । 

नेप्सेमा सेयर कारोबार सुरु भएपछि आमरण अनसनको समर्थमा नेप्से गेटमा भेला भएका लगानीकर्ताहरुले प्रदर्शन थालेका थिए । आक्रोशित लगानीकर्ताले नेप्से परिसरमै छिरेर प्रदर्शन र नाराबाजी गर्न थालेपछि फेरि नेप्सेले कारोबार डिस्प्ले देखाउन छाडेको थियो । तर, त्यसको केही मिनेटमा नेप्सेको डिस्प्लेमा केही परिवर्तनहरु देखिए ।

कारोबार कित्ता उही, कम्पनी उति नै र कारोबारको रकम पनि उही । तर, नेप्सेको डिस्प्लेमा भने घरी नेप्सेको बढेको त घरि घटेको देखाइएको छ । 

घटबढको अंक समेत केही मिनेटको अवधिमा मनपरी देखाइएको छ । 

यो गडबडी र गाइजात्रा तालले नेप्सेले निकै गुणस्तरीय भनेको अनलाइन कारोबार प्रणालीमाथि शंका उब्जिएको छ । स्वचालित अनलाइन कारोबार प्रणालीमा मिनेट मिनेटमै एउटै तथ्यांक हुँदा समेत घटबढतर्फको अंकमा कसले खेल्यो भन्ने बिषय सशंयको बिषय बनेको छ ।