काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको नाममा नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कसरी परीक्षण कारोबार मात्रै गरिरहेको छ भन्ने कुरा प्रमाणित भएको छ । 

बिजशालाले केही दिनअघि नेप्सेले पूर्णको हवाला दिएर स्वचालित अनलाइन कारोबार प्रणालीको भित्रभित्रै परीक्षण मात्र गरिरहेको समाचार सप्रमाण प्रकाशन गरेको थियो । 

सोबेला सो समाचारमा आपत्ति जनाउने नेप्से आफ्नै कमजोरीका तोकिएको रेञ्जभन्दा बढीमा सेयर कारोबार भएपछि अपर तामाकोशीको कारोबार रद्ध गर्न बाध्य भएको छ । 

नेप्सेले सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको सेयर मूल्य अस्वभाविक रुपमा बढेर कारोबार भएपछि त्यसलाई रद्ध गरिएको बताइएको हो । 

नेप्सेका एक अधिकारीले सो समस्या समाधानका लागि प्राविधिक टोली खटिएको बताए पनि यस्तो समस्या पूर्ण स्वचालित भनिएको कारोबार प्रणाली कार्यान्वयनको समयदेखि नै बारम्बार दोहोरिरहेको छ । नेप्सेको पूर्ण स्वचालित भनिएको सिस्टममा थुप्रै खराबी भए पनि प्राविधिक टोलीले त्यसमा सुधारका लागि भरपर्दो प्रयास नगरेको देखिन्छ । 

नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केही मिनेटभित्रै तामाकोशीको सेयर मूल्य अस्वभाविक रुपले बढेर निकै माथि पुगेको थियो । कुनै  पनि कम्पनीको १० प्रतिशतसम्म मूल्य बढ्दा सर्किट ब्रेकर लागेर कारोबार रोक्नु परे पनि तामाकोशीको सेयर मूल्य भने ५० प्रतिशतसम्म बढेपछि बजारमा खैलाबैला मच्चिएको थियो । तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँसम्म पुगेपछि मात्र नेप्सेले सिस्टममा गडबडी भन्दै कारोबार रद्ध गरेको थियो । 

तामाकोशीको सेयर आइतबारदेखि कारोबारमा आएको हो । नेप्सेले यो कम्पनीको कारोबारको सुरुवाती रेञ्ज रु.७४.८९ देखि २२४.६७ रुपैयाँ तोकेको थियो । 

करोडौंको सिस्टममा हरेक दिन समस्या
नेप्सेले करोडौं रकम खर्च गरी विश्वस्तरीय भन्ने दाबीसहित कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताहरुको न्यून सहभागिता छ । यसको मुख्य कारण हो यो सिस्टमप्रतिको अविश्वास । 

लगानीकर्ताहरुले नेप्सेको सिस्टम नै निकै सस्तो, गुणस्तरहीन र समस्यै समस्याले भरिएको भएकोले यसमा समाहित भएर लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै धेरैले अनलाइनको लगइन नै लिन अस्वीकार गरिरहेका छन् । 

सिस्टममा दैनिकजसो देखिरहने समस्या समाधानमा नेप्सेको प्राविधिक समूह उदासीन बन्दा लगानीकर्ताले अनाहकमा दुःख पाइरहेका छन् । 

यो सिस्टमको अहिलेको गुणस्तरीयता हेर्दा समेत करोडौं खर्चको सान्दर्भिकता पुष्टि नहुने भएकोले यो बिषयमा छानबिन हुनुपर्ने माग समेत उठ्न थालेको छ । 

१९ करोड भन्दा बढी खर्च भएको भनिएको सिस्टममा भएको गडबडीले समेत पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनको नाममा ठूलै चलखेल भएको आशंकाहरुलाई थप बलियो बनाइदिन थालेको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका भ्रष्टाचारविरुद्ध कार्यरत एजेन्सीहरुले ध्यान दिनुपर्ने आवाज लगानीकर्ताहरुबाट विगतदेखि नै उठिरहेको छ । सिस्टम गुणस्तरहीन रहेको दिनहुँजसो प्रमाणित भइरहेको सन्दर्भमा ती आवाजमा केही न केही दम छ भन्ने कुरा सम्बद्ध निकायले बुझ्न जरुरी देखिन्छ । 

यो समाचार पढ्नुभयो ?

अनलाइन सिस्टममा नेप्सेको हदैसम्मको लापरबाही, 'पूर्ण'को हल्ला गरेर अझै 'परीक्षणकाल' !