काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको लापरबाहीले सीमा नाघ्न थालेको छ।

अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थालाई व्यवस्थापन गर्न नसकिरहेको नेप्सेले दिनहुँजसो अनौठा–अनौठा गल्ती गरिरहेको छ । 

सोमबार पनि यस्तै भयो । नेप्सेले वोमी माइक्रोफाइनान्सको पारित नै नभएको हकप्रदका लागि सेयरमूल्य समायोजन गरिदिएको छ । 

नेप्सेलाई वोमी माइक्रोफाइनान्सले विशेष साधारणसभाको बुक क्लोज सम्बन्धी नोटिस पठाएकोमा त्यसलाई प्रकाशन गर्दा हकप्रद सेयरको मूल्य समायोजन गरिदिएको हो । 

यो कम्पनीले फागुन ६ गते डाँकेको साधारणसभाका लागि माघ २८ गते बुक क्लोज गरेको थियो । कम्पनीले सोही साधारणसभामा सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव लैजाँदैछ । तर, पारित नै नभएको त्यही हकप्रदका लागि सेयर मूल्य समायोजनाको गम्भीर लापरबाही गरेको हो । 

सो सभाले कम्पनीको चुक्तापूँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबर हकप्रद प्रस्ताव पारित गर्नका लागि कम्पनीले सोमबार एक दिन बुकक्लोज गर्ने भन्दै नोटिस नेप्सेलाई पठाएको थियो ।

सोमबार शेयर बजार खुल्नु अगाडि नेप्सेको वेबसाइटमा वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन गरिएको सूचना प्रकाशित भएपछि लगानीकर्ताहरु आश्चर्यमा परे । 

आइतबार ९८९ रुपैयाँमा कारोबार भएकोमा नेप्सेले सोमबार मूल्य समायोजन गरेर ६१० रुपैयाँ तोकिदियो । प्रतिकित्तामा एकाएक ३७९ रुपैयाँ सम्पत्ति गुमाएपछि लगानीकर्ता आक्रोशित बनेका देखिए । 

पछि नेप्सेले त्यो सूचना आफैं वेबसाइटबाट हटाएको थियो । नेप्सेले हालसम्म के कारणले त्यस्तो भएको हो भन्ने बिषय प्रष्ट पारेको छैन । 

यसअघि समेत नेप्सेले नेपाल ग्रामिण विकास लघुवित्तको हकप्रदमा यस्तै गल्ती गरेको थियो ।

नेप्सेले अनलाइन प्रणालीको नाममा जथाभावी गरेको र लगानीकर्ताको सम्पत्तिमाथि हुने खेलले सीमा नाघ्दा समेत नियामक धितोपत्र बोर्ड र अर्थमन्त्रालय चूप बसेका भन्दै लगानीकर्तामा आक्रोश देखिएको छ । 

सामाजिक सञ्जालहरुमा नेप्सेले गाइजात्रे प्रदर्शन गरिरहेको र यो भद्रगोलको व्यवस्थापन गर्न नसक्नेलाई तत्काल कारबाही हुनुपर्ने माग उठेको छ ।