काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको भद्रगोलप्रति अर्थमन्त्रालयले चासो दिएको छ । 

अर्थमन्त्रालयले सोमबार पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डलाई अनलाइन कारोबार प्रणालीको प्रभावकारिताको नियमित अनुगमन गर्न र यो प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । 

अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीका अनुसार बोर्डलाई सोमबार पत्र लेखेर अनलाइन कारोबार प्रणालीको समस्या समाधान गर्न पहल गर्न, नियमित अनुगमन गर्न र त्यसलाई प्रभावकारी बनाउनका लागि आवश्यक व्यवस्था गर्न लिखित निर्देशन दिइएको हो । 

नेप्सेको अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएदेखि पटक पटक समस्या भई भद्रगोलपूर्ण अवस्थामा रहेको छ । आइतबार कारोबार भइरहेको समयमा सिस्टममा निकै गम्भीर समस्या आई दिउँसो १२.४१ देखि लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन् । नेप्सेले यसलाई नेटवर्किङ र कनेक्सनको समस्या भने पनि जानकार आइटी विज्ञहरुले भने सिस्टम नै क्र्यास हुने डरलाग्दो अवस्थामा पुगेको दाबी गरेका छन् । सिस्टम नै क्र्यास भई लगानीकर्ताको लगानी जोखिममा पर्नसक्ने देखिएपछि लगानीकर्ताको विभिन्न संघसंगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अर्थमन्त्रालय गुहारेका थिए । 

यस्तै, बोर्डका अधिकारीहरुको अनौपचारिक बैठकले समेत अनलाइनको भद्रगोल अवस्थाको विषयमा हिजै अर्थका अधिकारीहरुलाई मौखिक जानकारी गराएका थिए । अनलाइन प्रणाली त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै आफूहरुलाई काम गर्ने सहज वातावरणका लागि अर्थमन्त्रालयले बाटो खोलिदिनुपर्ने बताइरहँदा अर्थले अनलाइन कारोबार प्रणालीको नियमित अनुगमनको जिम्मा बोर्डलाई दिएको हो । 

यता, धितोपत्र बोर्डले केही साताअघिदेखि नै अनलाइन कारोबार प्रणालीको समस्या र यसबाट परेको प्रभावहरुको बिषयमा गोप्य अध्यययन गरिरहेको छ । एक कमिटी नै बनाएर उसले अध्ययन जारी राखेको हो । 

सो समितिले छिटोमा फागुन २९ गतेभित्र अर्थमन्त्रालयमा अनलाइन कारोबार प्रणालीको समस्या, यसले लगानीकर्ता र पूँजीबजारमा पारेको प्रभाव, समस्याको कारण र समाधानको उपायसहितको प्रतिवेदन बुझाउने योजना रहेको स्रोतले जनाएको छ ।