काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीले मंगलबार पनि काम गरेन । 

अनलाइन प्रणाली डाउन भएपछि यो दिन अधिकांश लगानीकर्ताले कारोबार गर्न पाएनन् । ब्रोकरहरुको टिएमएस पनि नचलेपछि कारोबारमा उनीहरुबाट हुने सहजीकरण पनि ठप्पप्राय बन्यो । 

समस्याग्रस्त अनलाइन प्रणालीले बेला–बेला मात्र काम गरेको थियो । बेला–बेला चलेको मौका छोपी केही करोडको सेयर कारोबार भएको छ । 
अनलाइन कारोबार प्रणालीमा आएको समस्याको विषयमा नेप्सेले लगानीकर्तालाई जानकारी समेत गराएको छैन । 

लगानीकर्ताले पटक–पटक प्रयास गर्दा समेत टिएमएस लगइन गर्न सकेनन् । उनीहरुले समस्याको विषयमा नेप्सेबाट केही प्रष्टोक्ति आउने आशासहित कारोबार अवधिभरि नै लगातार नेप्सेको वेबसाइट भिजिट गरिरहे पनि त्यो अपेक्षा पूरा भएन । 

अरुबेला टिएमएसमा समस्या हुँदा वा प्रणालीमा गडबड हुँदा नेप्सेले तुरुन्त त्यस विषयमा जानकारी गराउथ्यो । तर, मंगलबारको समस्याको विषयमा नेप्सेले समयमै जानकारी नगराउँदा लगानीकर्ता झनै ठूलो अन्यौलमा परे । 

कतिपय लगानीकर्ताहरुले त ठूला लगानीकर्ता, नेप्सेकै केही अधिकारी र अनलाइन प्रणाली निर्माण गर्ने वाइकोको मिलेमतोमा जानाजान कारोबारमा अवरोध खडा गरिएको दाबी समेत गरेका छन् । 

उनीहरुले अनलाइन प्रणाली नै गुणस्तरहीन रहेको र यसले कारोबारको ठूलो चाप धान्न नसक्ने कुरा पटक–पटक प्रमाणित हुँदा समेत यसको सुधारका लागि कडा कदम नचाल्ने अर्थमन्त्रालयप्रति रोष प्रकट गरेका छन्। 

‘अनलाइन कारोबार प्रणालीको नाममा १९ करोड बढी खर्च गरेर यति ठूलो भ्रष्टाचार हुँदा समेत अर्थमन्त्रालय कानमा तेल हालेर बसेको छ ।’ आक्रोशित एक लगानीकर्ताले भने–‘अनलाइन प्रणालीमा यसरी दैनिकजसो समस्या आएको कैयौ पटक भइसक्यो । प्रत्येक पटक लगानीकर्ताले आश्वासन बाहेक केही पाएनन् । लगानीकर्ताले यति धेरै दुःख पाउँदा समेत सरकारको तालुकदार मन्त्रालय नतात्नु अझ रहस्यमय बनिरहेको छ ।’ 

जानकारहरुका अनुसार मंगलबार लगानीकर्ताहरुले अनलाइन प्रणालीमा लगइन गर्न पाए पनि टिएमएसमा भने लगइन गर्न पाएनन् । ब्रोकरहरुको टिएमएस लगइन समेत कारोबारको अधिकांश समय ठप्प जस्तै बन्यो । 

केही दिनअघि नेप्सेको अनलाइन प्रणालीले कारोबार सुरु भएको १ घण्टा ४१ मिनेटपछि काम गर्न सकेको थिएन । अनलाइन प्रणाली सो दिन क्र्यास नै भए पनि त्यसलाई नेप्सेले लुकाएर ‘सामान्य समस्या हो’ भन्ने प्रचारबाजी गरेको आइटी विज्ञहरु दाबी गर्छन् । ‘सो दिन नेप्सेको प्रणाली नै क्र्यास भएको थियो, समस्या निकै गम्भीर थियो ।’ नाम उल्लेख नगर्ने शर्तमा ती आइटी विज्ञले भने–‘नेप्सेको अनलाइन प्रणालीको नाममा गाइजात्रा भएको छ, लगानीकर्तालाई प्रत्येक दिन बेवकुफ बनाउने काम भएको छ । यस्तो बेलामा समेत सरकारका अन्य निकाय नतात्नु अनौठो विषय हो ।’ 

ती आइटीले विज्ञले मंगलबारको समस्याले नेप्सेको अनलाइन कारोबार प्रणाली कतिसम्म गुणस्तरहीन र कमजोर छ भन्ने थप पुष्टि गरेको दाबी गरे । ‘नेप्सेको अनलाइन प्रणाली सामान्य खरीदबिक्रीको चाप समेत धान्नसक्ने क्षमताको छैन ।’ ती विज्ञले भने–‘यसमा चरम भ्रष्टाचार भएको छ, छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’ 

केही दिनअघि १२ः४१ सम्म कारोबार भई त्यसपछि दिनभरि अनलाइन प्रणालीले काम नगरेपछि नेप्सेले सिस्टम निर्माता कम्पनी वाइकोलाई स्पष्टीकरण सोध्दै आउँदा दिनमा अनलाइन प्रणालीमा समस्या नआउने प्रतिबद्धता समेत मागेको थियो । वाइकोले लिखित प्रतिबद्धता समेत जनाएको थियो । तर, प्रतिबद्धताको मसी सुक्न नपाउँदै अनलाइन प्रणाली फेरि क्र्यास हुने अवस्थामा पुगेको छ । 

टिएमएस नचलेर बजारमा अन्यौल सिर्जना भइरहेकै बेला बिजशाला प्रतिनिधि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा पुगेको थियो । सो बेला नेप्सेका सीइओ चन्द्रसिंह साउद उदास मुद्रामा भेटिए । उनले आइटीका कर्मचारीलाई थर्काइरहेका सुनिन्थ्यो । यसले साउदलाई नै असफल बनाउन नियोजित रुपमै अनलाइन कारोबार प्रणालीमा खेल त भइरहेको छैन भन्ने सशंय समेत पैदा भएको छ ।