काठमाण्डौ । मंगलबार सेयर बजार दशैंमय भएको छ । सोमबारदेखि बढ्न थालेको बजारमा मंगलबार परिसूचकको चंगा उडेर अझ माथि उडेको छ भने कारोबारको चंगा समेत माथि उचालिएको छ । परिसूचक र कारोबार दुवैको चंगा अझ माथि उड्दै जाँदा लगानीकर्तामा दशैंको उमङ्ग र उत्साह छाएको देखिएको छ । अन्य वर्ष दशैंविदाअघि बजारमा यस्तो उत्साह हुन्थेन । यो पटक थोरै लगानीकर्ता दशैंकको चटारोमा व्यस्त हुँदा समेत बजार परिसूचक बढ्नुु र मंगलबार त कारोबार रकम समेत बढ्नुले बजारमा आशाको संचार गरिदिएको छ । कम्तीमा लगानीकर्ताले आशामुखी र उत्साही भएर दशैं मनाउन पाउनेछन् । 

यो दिन बजार परिसूचक ४.०२ अंकले बढेर  १५४९.४६ को विन्दूमा पुुगेको छ भने कारोबार रकम पनि सोमबारको तुलनामा बढेर ३२ करोड माथि पुुगेको छ । 

बैकिङ, बिमा, विकास बैंक, बित्त र अन्य समूहमा क्रमशः ५.२५, ३.७७, ११.६१, १.८८ र २.६१ अंकको वृद्धि भयो । ट्रेडिङ समूह २०.७८, होटल समूह २३.१९, जलविद्युत समूह ६.४९ र उत्पादनमूलक १८.८९ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स १.१६ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.३ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
बजारमा १ सय ५३ कम्पनीका ७ लाख ५६ हजार ९ सय ८७ कित्ता सेयर ३२ करोड ७ लाख ४७ हजार ४ सय ९० रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड २३ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २२ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड १० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ९७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक र तीन स्थान बिमा कम्पनीले कब्जा गरे। 

धेरै कमाउने र गुुमाउने कम्पनी
यो दिन कन्काई विकास बैंकले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ५.५८ प्रतिशतले बढ्न पुुग्यो । 

दशैंको रमझम बिशाल बजार कम्पनीका लगानीकर्ताका लागि भने नकारात्मक रह्यो । यो कम्पनीको सेयर मूल्य सोमबार झै मंगलबार पनि १० प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो।