काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नयाँ वेबसाइटको तयारी अन्तिम चरणमा पुर्याएको छ । 

नेप्सेले नयाँ वेबसाइटको बिटा भर्जनलाई परीक्षणको रुपमा बुधबार सार्वजनिक गरेको हो । 

नेप्सेले फिडब्याकका लागि दर्शक तथा प्रयोगकर्ताहरुलाई  http://newweb.nepalstock.com.np:8500 लिंकमा feedback@nepalstock.com  मा इमेल गर्न आग्रह गरेको छ । 

फिडब्याकहरुलाई आधार मानी आवश्यक परिमार्जनसहित नयाँ वेबसाइट लाइभ गरिने सूचनामा उल्लेख छ ।  नेप्सेले नयाँ वेबसाइट परिमार्जन गरेर अन्तर्राष्ट्रिय स्तरको अपडेटेड वेबसाइड लञ्च गर्ने तयारी गरेको हो ।

फिडब्याकका लागि २ हप्ता समय दिइने र आएका राम्रा सुझावहरुका आधारमा थप परिमार्जन गरी नयाँ वेबसाइट लञ्च गरिने योजना रहेको नेप्सेको भनाइ छ ।

बिटा भर्सन परीक्षणकाल सेसनमा रहेको नयाँ वेबसाइटको बायाँ भागमा नेप्से ग्राफ, घटबढ र तटस्थ कम्पनीको जानकारी र पुच्छरमा कर्पोरेट डिस्क्लोजर वा नोटिस रहने छ भने दायाँ भागको माथि लाइभ मार्केट, टेक्निकल चार्ट वा ग्राफ(सूचीकृत कम्पनी) र पुच्छरमा सूचीकरणका जानकारीहरु समावेश गरिने छ । 

वेबसाइट अहिलेकोभन्दा सबै जानकारी तथा सूचनाहरु हेर्न सहज र आवश्यकता अनुसार थपघट गर्न मिल्ने गरी गतिशील र लचकदार किसिमले निर्माण गरिएको नेप्सेले जनाएको छ ।

सुरक्षा र विश्वसनीयतामा  विशेष जोड दिंदै नेप्सेमा सूचीकृत कम्पनीहरुका विस्तृत प्रोफाइलसहित इपीएस, पीई रेसियो समेतको फिचर समावेश गर्ने नेप्सेको योजना छ ।