-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नेपाल क्लियरिङ हाउसको रोडब्लक विज्ञापन आफ्नो आधिकारिक वेबसाइटमा अनधिकृत रुपमा राखेको छ । 

एक सातासम्म अनधिकृत रुपमा राखिएको रोडब्लक विज्ञापनको समाचार तयारीको क्रममा बिजशाला संवाददाताले नेप्सेका प्रवक्ता मुराहरी पराजुलीलाई टेलिफोन सम्पर्क गरेको थियो । सो क्रममा एनसीएचएलको अनधिकृत विज्ञापन हालिएको विषयमा बुझ्ने प्रयास गरिएको थियो ।

उनीसँगको कुराकानीको केही मिनेटमै नेप्सेले हतार हतार सो विज्ञापन हटाएको छ । 

नेप्सको वेबसाइटमा राखिएको एनसीएचएलको ‘अब सेयर कारोबार भुृक्तानी सजिलो’ भन्ने  रोडब्लक विज्ञापन  विगत  एकहप्तादेखि हालिएको थियो । बजारको दैनिक गतिविधि नियाल्न नेप्सेको वेबसाइट खोल्ने लगानीकर्ताले अनावश्यक रुपमा एनसीएचएलको रोडब्लक विज्ञापन पहिला हेर्नुपर्ने झञ्झट बनाइएको थियो । 

यही विषयमा स्टोरी बनाउने क्रममा हामीले  नेप्सेका  प्रवक्ता मुराहरि पराजुलीसँग बुझ्ने प्रयास गर्यौं । उनले हामीलाई ‘सहकार्यका लागि विज्ञापन राखिएको’ भन्दै झारा टार्ने जवाफ दिए । उनीसँगको संवाद सकिएको केही मिनेटमै चमात्कारिक रुपमा रोडब्लक एड हटाइयो ।

नेप्सेले एनसीएचएलप्रतिको सदाशयता यतिमा मात्र सीमित गरेको छैन । नेप्से कार्यालयको पहिलो तल्लाको भर्याङमै पनि आगन्तुकको बाटो छेकिने गरी त्यही विज्ञापन राखिएको छ । 

नेप्सेको वेबसाइट वा कार्यालय कुनै नाफामुखी कम्पनीको विज्ञापन राख्ने ठाउँ होइन । यस्तो अभ्यासलाई जानकारहरु अनधिकृत भन्छन् । 

यस विषयमा नेपाल क्लियरिङ हाउसका बिजनेस डेभलपमेण्ट मेनेजर विवेक गिरीसँग हामीले बुझ्ने कोशिश गर्यौ । उनले सुरुमा नेप्सेले नै आफूहरुको प्रडक्ट प्रमोसन गर्न रोडब्लक विज्ञापन राखिदिएको दाबी गरे । तर, एकछिनमै कुरा फेर्दै आफूहरुकै अनुरोधमा नेप्सेले त्यस्तो विज्ञापन राखिदिएको जिकिर गरे । सो क्रममा उनले त्यो विज्ञापन हाल्दा एनसिएचएलले कुनै शुल्क नतिरेको दाबी समेत गर्न भ्याए । 

नेप्सेका एक उच्च अधिकारीले नेप्सेको वेबसाइट र कार्यालयभित्रै कुनै नाफामूलक कम्पनीको विज्ञापन राख्नु ठीक नभएको उल्लेख गर्दै आजसम्मको इतिहासमा यसरी कुनै नाफामुलक संस्थाको विज्ञापन नेप्सेले प्रकाशन नगरेको बताए । 

नेप्सेको यो कामबाट वर्षौदेखि बजार विकास, बिस्तार र लगानीकर्ताका सचेतनाका लागि क्रियाशील ब्रोकर पनि आश्चर्यमा छन् । नेप्सेले आजसम्मको इतिहासमा यस्तो काम गरेको थिएन । एक ब्रोकरले भने ः यो अनधिकृत काम हो । कुनै कम्पनी विशेषको प्रमोसन नेप्सेको वेबसाइटमा हुनु दुःखद पक्ष हो । उनले नेप्सेले एनसिएचएलको सेयर कारोबारसँग जोडिएको प्रडक्टको विषयमा लगानीकर्तालाई सूचनामार्फत जानकारी दिनसक्ने भए पनि विज्ञापन नै हाल्नु आश्चर्यजनक र रहस्यमयी रहेको दाबी समेत गरे । 

नेप्सेजस्तो सेवामुृलक सरकारी संस्थानले एक व्यावसायिक नाफामूलक अर्धसरकारी संगठन नेपाल क्लियरिङ हाउसको विज्ञापन अग्रभागमा सरकारी वेबसाइटमा राखिनु लज्जास्पद रहेको लगानीकर्ता बताउँछन्। 

यसैबीच, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदले आफूहरुले लगानीकर्ताको सचेतनाका लागि मात्रै त्यस्तो विज्ञापन राखेको दाबी गर्दै भने–‘त्यो मिस्टेक हो भने करेक्सन हुन्छ ।’