काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को अनलाइन ट्रेडिङ सिस्टमअन्तरगत टीएमएसको गम्भीर लापरबाही र हेल्चेक्र्याईकै  कारण एनआइसी एसिया  बैंकको मूल्य रेन्जबाहिर कारोबार भएको छ। 

नेप्सेले आइतबार एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन पश्चात् रुपैयाँ  ४०७.२७ कायम भयो, तर ब्रोकर नम्बर ४२ र ४८ ले खरिद गरेको मूल्य भने ४४१ रुपैयाँ देखिन्छ। 

नेप्सेले कारोबार दिनमा उपलब्ध गराएको बिहान १०ः३०-१०ः५५ सम्म प्रिओपन समयमा नेप्सेमा सूचीकृत कुनै पनि  कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत र ११ बजे पछि २ प्रतिशत उतारचढावमा खरिदबिक्री आदेश हुने नियम बनाएको नेप्सेको सिस्टममा एनआईसी एसिया बैंकको आज ८.२८ प्रतिशत बढेर कारोबार भएको छ। जसले गर्दा नेप्सेले संचालनमा ल्याएको एक वर्ष बित्न लाग्दा समेत अनलाइन कारोबार प्रणालीमा समस्याहरू जस्ताको तस्तै छन् भन्ने देखिन्छ ।

यस विषयमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीलाई सम्पर्क गर्दा इस्यू बारे जानकारी गराइसकेपछि फोन सम्पर्क नै विच्छेद गरिदिए। 

यसैबीच, हामीले ब्रोकर नम्बर ४८ र ४२ का टंक गौतम र सन्तोष पौडेललाई राखेको जिज्ञासामा आफ्ना सेवाग्राही अनलाईन प्रयोगकर्ताले जीटीसी(गुड टू क्यान्सिल) अर्डर भएको दाबी गरे। 

प्रिओपन सेसनमा नेप्सेले ५ प्रतिशतसम्म सेयरमूल्यको आफ्नो सिलिङ्ग तोकेको छ । तर, एनआइसी एशियाको कारोबार ८ प्रतिशत बढीमा हुँदा नेप्से स्वयम्को सिस्टममा रहेको प्रणालीप्रति नै अविश्वास देखिएको छ। लगानीकर्ताहरुले सेयर खरिदबिक्री प्रयोजनका लागि उपलब्ध भएको नेप्से अनलाइन प्रणाली अनुसार जीटीसी अर्डर  १५ दिनसम्म भ्यालिड अटोमेटिक रहन्छ, यस्तो अवस्थामा नेप्सेको सिस्टम फिल्टर गरी कारोबार म्यापिंग हुनुपथ्र्यो । तर, प्रिओपन सेसनमा अधिकतम  ५ प्रतिशतसम्म घटबढ गर्न सकिनुका सट्टा आज एनआईसी एसिया बैंकको कारोबार ५ प्रतिशतको सीमा नाघेर  कारोबार भयो, जसमा नेप्सेको प्रणालीको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको छ । 

यसले नेप्से इन्डेक्स गणनामा समेत असर पार्ने भएकाले लगानीकर्ताहरुलाई सूचना तथा जानकारीमा समेत नेप्सेले लापरबाहीको पराकाष्ठा नाघेको देखिन्छ । 

दोस्रो बजार अत्यन्तै संवेदनशिल क्षेत्र हो जहाँ कुनै पनि एउटा साना साना सूचना तथा जानकारीले बजारलाई प्रभावित पार्ने र आम लगानीकर्ताहरुको निर्णय नै प्रभावित हुने गर्दछ । तर यो विषयमा अधिक जानकार फ्रण्ट लाइन रेगुलेटर नेप्से  नै संवेदनशील नभईदिदा बजार पनि प्रभावित बन्दै गइरहेको छ नै लगानीकर्ताहरुको सम्पत्तिमा समेत खेलवाड भएको छ ।