-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजारमा धितोपत्र कारोबारका लागि सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन ट्रेडिङ)को सर्भर रहेको नेप्से भवनमै नेप्सेका आइटी अधिकारी र सिस्टम आपूर्तिकर्ताहरुले निर्वाध मोबाइल चलाएकोमा बजारसम्बद्ध सरोकारवालाहरुले विश्वमै नभएको प्रचलन भन्दै तीव्र विरोध जनाएका छन् । 

गत २०७५ साल कात्तिक २० गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको नेप्से अनलाइन कारोबार प्रणालीको सर्भर नेप्सेकै पहिलो तला आइटी शाखामा रहेको छ । सो शाखामा नेप्सेका आइटी अधिकारीहरु र सिस्टम आपूर्तिकर्ता वाइको प्रालिका कर्मचारीहरु निर्वाध मोबाइल चलाइरहेको बिजशालाले स्थलगत नै भेटेको छ । जसको भिडियो लिङ्क यो समाचार तल राखिएको छ । 

नेप्से  नेपालमा दोस्रो बजारको प्ल्याटफर्म उपलब्ध गराउने आधिकारिक संस्था हो । धितोपत्र कारोबारको मूल्यमा कारोबार हुने  विभिन्न कम्पनीहरु नेप्सेले नै सूचना र जानकारीले धेरै नै अर्थ राख्दछ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयरमूल्य प्रभावित हुुने संवदेनशील सूचना तथा जानकारी प्रवाह हुने आइसीयुकै रुपमा रहेको आइटी शाखामा रहेका कर्मचारीहरुलाई प्रयोग गर्दै बजारमा चलखेल गराउने अभ्यास हुन सक्दछ । भनिन्छ सेयरमूल्य भनेकै सूचनाको फङ्सन हो ।

विगतमा पनि नेप्सेको अनलाइन प्रणालीमार्फत लाखौं लगानीकर्ताहरुको व्यक्तिगत सूचना ३ महिनासम्म लिक हुँदा समेत बेवास्ता गरेको खुलासा बिजशालाले यसअघि नै गरिसकेको छ । 

ंनेप्सेमा रहेको सर्भर कक्ष अति नै संवेदनशील क्षेत्र हो । त्यहाँ सर्भर हेर्न बसेका कर्मचारीहरुलाई मोबाइल खुला गरिए सूचना लिक भई इन्साइडर ट्रेडिङ हुने खतरा समेत हुन्छ । 

अर्कोतर्फ बजार उत्तारचढाव गराउन खोज्ने समूहसँगको साँठगाँठमा सर्भरमा रहेका कर्मचारीहरुले सहयोग गरी सिस्टम डाउन गरेर फाइदा लिइरहेको घटना यसअघि पनि बिजशालाले उजागर गरिसकेको छ ।

सेयर बजारका जानकार सूकराम पाण्डेले यस विषयमा ९ महिनाअघि नेप्सेका सीइओ चन्द्रसिंह साउदलाई जानकारी गराइएको र सुधार गरिने प्रतिवद्धता पाएको दाबी गरे । ‘हामीले पनि हालसम्म पनि सो सर्भर रहेको स्थानमा मोबाइल निर्वाध चलाइरहेका पायौं।’पाण्डे भन्छन्–‘सीइओ साउद यस्तो विषयमा गम्भीर नबन्दा दोस्रो बजारमा चलखेलले प्रश्रय पाउने र सोझा लगानीकर्ता फस्ने सम्भावना बढेर जान्छ । नेप्सेकै अनलाइन कारोबार प्रणालीमा हाल पनि समस्या रहेको र नेप्सेले समेत म्यानुअल कारोबारभन्दा पनि अनलाइनलाई जोड दिनुपर्छ।’ पाण्डेका अनुसार विश्वका स्टक एक्सचेञ्जमा सर्भर कक्षमा मोबाइल प्रयोगमा कारोबार अवधिभर कडा बन्देज नै लगाइएको हुन्छ ।

लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले बजार अवधिभर नेप्स ेअनलाइनको सर्भरमा कर्मचारीहरु मोबाइल चलाउँदा बजारमा चलखेल बढ्ने जिकिर गरे । ‘विश्वमै यस्तो अभ्यास कतै छैन।’अध्यक्ष ढकाल भन्छन्–‘अपर तामाकोशी लगायत अन्य सेयरहरुमा नेप्सेको सर्भर बिगारेर बजारमा चलखेल गर्ने समूहसँग मिलेमतो गराएको प्रष्टै छ नि ।’ यो अति नै गम्भीर विषय भएको उल्लेख गर्दै नेप्सेले समयमै जिम्मेवार बोध गर्नुपर्नेमा ढकालको जोड छ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले समेत सर्भर कक्षमा कर्मचारीहरुले मोबाइल चलाउनु राम्रो नभएको स्वीकारे ।

बिजशाला स्रोतका अनुसार अनलाइन प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालनमा नल्याई लूपहोलबाट नेप्सेमा आएका वा भएका बजारका संवेदनशील सूचना तथा जानकारीहरुमा खेलबाड गर्ने योजना मुताबिक नै यस्ता काम हुने गरेको छ । समयमै जानकारी हुँदा समेत यो विषयलाई बेवास्ता गर्ने नेप्से प्रमुखमाथि नै छानबिन गरी कारबाही हुनुपर्ने माग समेत बजारबाट उठेको छ । त्यसो त साउद नेप्से प्रमुख भएर आएपछि उनका अधिकांश गतिविधिहरु बजारको विकास भन्दा पनि व्यक्तिगत फाइदा केन्द्रीत हुने गरेको बेला बेला आरोप लाग्ने गरेको छ ।