काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को अनलाइन कारोबार प्रणालीमा दिनहुुँजसो समस्या र वेबसाइट नचल्दा लगानीकर्ता पुनः ब्रोकर अफिस नै धाउनुपर्ने परेको छ ।

आजसमेत नेप्सेको वेबसाइटमा दोस्रो बजारमा भएका गतिविधि देखिएको छैन । बढ्दो बजारमा सेयर लगानीबाट कमाउन लगानीकर्ता उत्साहित भइरहेका बेला वेबसाइटबाट जानकारी पाउन असमर्थ भएको सामाखुसीबाट ब्रोकर नम्बर २६ एसियन सेक्युरिटिजमा भेटिएकी एक लगानीकर्ता उषा शर्माले गुनासो पोखिन् । 

धितोपत्र कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीले घरबाटै कारोबार मिल्ने भनिए पनि बजारको सूचना तथा जानकारी यथार्थ नपस्किएका कारण ब्रोकर हाउससम्म आउने कष्ट परेको सामाखुसीबाटै धाएकी अर्की लगानीकर्ता अजुना पाण्डेले सुनाइन् । ‘नेप्सेको वेबसाइट नै हेर्न मिल्दैन भनेर घरमा पो वाइफाई बिग्रेको हो कि भनेको हैन रहेछ’, उनले भनिन्, ‘पछि मिडियामा आएपछि थाहा भयो ।’

यसैबीच सोही ब्रोकर हाउसमा भेटिएका अर्का सक्रिय लगानीकर्ता सुन्दर पाण्डे नेप्सेको वेबसाइटमा समस्याहरू रहेकै कारण यथार्थ जानकारी नै पाउन मुस्किल भइरहेको बताउँछन् । ‘हेर्नुस् टीएमएसमा ग्लोबल आईएमई बैंकको कारोबार मार्केट डेप्थ र लाइभ मार्केटमै फरक देखाउँछ, लाइभमा बढी र डेप्थ्मा कम देखाउँदा’, अनलाइन कारोबार प्रणालीबाटै कारोबार गर्दै आएका पाण्डेले भने, ‘हामीले यथार्थ जानकारी कसरी लिने ? लगानी निर्णयमै गम्भीर असर परिरहेको छ ।’

यता नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले लगानीकर्ताले निर्वाध रुपमा हेर्न पाउनुपर्ने फ्लोर सिट, मार्केट डेप्थलगायतका अप्सनहरु हेर्न नमिल्ने र घरीघरी सिस्टम नै ह्याङ हुने गरेको पाइएको दाबी गरिन् । करोडौँ रुपैयाँ खन्याएर भित्र्याइएको सिस्टममा करिव २० हजार लगानीकर्ताले प्रत्यक्ष (अनलाइन ट्रेडिङ सिस्टम) बाट र झन्डै १५ लाख लगानीकर्ताले अप्रत्यक्ष (अफलाइन  ट्रेडिङ सिस्टम ) बाट कारोबार गर्दा बारम्बार सिस्टममा यसो हुनु खेदजनक भएको अध्यक्ष पोख्रेलको भनाइ छ ।