काठमाण्डौ । नेपाली सेयर बजारले हिजो बिहीबार कुल बजार पूँजीकरणमा नयाँ रेकर्ड बनाएको छ ।

नेप्से परिसूचक हिजो फेब्रुअरी २७ मा १६३२.१७ विन्दू पुग्दा कुल बजार पूँजीकरण २०.८३ खर्ब रुपैयाँ पुगेर यो ऐतिहासिक रेकर्ड बनेको हो । सन् २०१७ जुलाइ १७ मा अहिलेसम्मकै सर्वाधिक नेप्से परिसूचक १८८१.४५ अंक पुग्दा २०.७० खर्ब पुगेको थियो ।
बजार पूँजीकरण नेप्सेमा सूचीकृत कम्पनीहरुका बजारमूल्यहरुको आधारमा गणना गरिन्छ । यो गणना गर्न अन्तिम कारोबार मूल्य र कायम सेयर संख्याले गुणन गरी निकालिन्छ । 

नेप्सेले आज जारी गरेको तथ्यांक अनुसार कुल बजार पूँजीकरणमा पर्ने सर्वोत्कृष्ट १० कम्पनीहरुको सूचीमा नेपाल टेलिकम,नबिल बैंक,नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक,एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टड बैंक,हिमालयन बैंक,एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । 
यो साताको कारोबारको अन्तिम दिन बिहीबार दैनिक कारोबारमा समेत ऐतिहासिक रेकर्ड बनाएको थियो । हिजो बिहीबार नै पनि अहिलेसम्मकै सर्वाधिक कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ बढी कारोबार सम्पन्न भएको थियो । 

यसैगरी यही साता नेप्सेमा साताभरिको कुल कारोबार रकमले पनि हालसम्मकै रेकर्ड बनाएको छ । साताको पाँचै दिन कारोबार खुलेको यो साता मात्र कुल १८ अर्ब ७८ करोड रुपैयाँ मूल्य बराबरका सेयर खरिदबिक्री भएको छ ।