काठमाण्डौ । लगानीकर्ताका संघसंगठनले बजारमा दैनिकजसो भइरहेको तीव्र गिरावटलाई 'अस्वभाविक' र 'अप्रत्यासित' भन्दै यो विषयमा तत्काल छानबिन गर्न र बजारलाई सकारात्मक ढंगले सम्बोधन गर्न नियामकलाई आग्रह गरेका छन् । 

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैै यस्तो आग्रह गरेका हुन् । 

इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुल्सीराम ढकाल र सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फूल्लेलले जारी गरेको विज्ञप्तिमा बजारका नियामक निकायहरुले कारणबिना र अस्वभाविक ढंगले बजार घटाइरहेकोतर्फ संकेत गर्दै यो विषयमा गम्भीर विश्लेषण गरी त्यसको समाधानका उपायहरु तत्काल कार्यान्वयन गर्न आह्वान गरेका छन् । 

केही दिनअघिदेखिको गिरावटलाई 'अप्रत्यासित गिरावट'को संज्ञा दिंदै यसले आफूहरुलाई चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालको समग्र आर्थिक अवस्थामा कुनै खास परिवर्तन नदेखिएको, सेयरबजारलाई प्रत्यक्ष असर गर्ने कुनै गतिविधि पनि नभएको अवस्थामा दैनिकजसो भइरहेको अत्यासलाग्दो गिरावट र बजारप्रति आम लगानीकर्तामा आएको निराशले सोच्नुपर्ने अवस्था सिर्जना गरेको समेत उनीहरुले दाबी गरेका छन् । 

उनीहरुले आम लगानीकर्तालाई कोरोना वा यस्तै अफवाहको पछाडि नलागी आफ्नो स्वविवेक प्रयोग गरी सेयर कारोबार गर्न समेत आग्रह गरेका छन् । 
सेयर बजारमा नियामक निकायहरुका सुधारका कार्यक्रमहरु पनि कार्यान्वयन हुँदै गरेका र पूँजीबजारमा कारोबार हुने कम्पनीहरुको नाफामा कुनै नकारात्मक प्रभाव नदेखिएको उल्लेख गर्दै यस्तो अवस्थामा सेयर कारोबार गर्दा संयमित र धैर्यवान हुन आग्रह समेत गरिएको छ ।