काठमाण्डौ । नेप्सेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)बाट सेयर कारोबारको गलत तथ्याङ्क सार्वजनिक हुन थालेपछि सोबारे छानविनको माग गर्दै प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ ।

बिजशालासमक्ष सम्पर्कमा आएका एक लगानीकर्ताले टीएमएसबाट बेला–बेलामा चलखेल गर्नका निम्ति अवैधानिक क्रियाकलाप भइरहेकाले आवश्यक छानबिन गर्न इमेलबाट माग गरिएको जानकारी दिए । इमेलबाट प्रतिउत्तरसमेत आइसकेको, तर हालका लागि गोपनीयता कायम गर्न सार्वजनिक नगर्ने र प्रधानमन्त्री कार्यालयबाट छानविनका लागि मातहतका निकायलाई निर्देशन दिइनुपर्छ भन्ने मेरो मान्यता हो ।’ ती लगानीकर्ताले भने । 

यसअघि पनि लगानीकर्ता दवाब समूहका पूर्व अध्यक्ष हरि ढकालले प्रधानमन्त्री कार्यालयमा सचिवालयका अधिकारीहरुलाई फोन सम्पर्क गरी टीएमएसको भद्रगोल अवस्था बारे उजुरी गरेपछि अर्थमन्त्रालयको अग्रसरतामा सेबोन र नेप्सेका कार्यकारी प्रमुखहरुलाई टीएमएसमा सुधार ल्याउन वा आवश्यक सहजता प्रदान गर्न निर्देशन दिइएको थियो । 

नेप्सेले हिजो आइतबारबाट कुनै समस्या नआउने गरी काम गर्ने दाबी गरिरहँदा हिजो आइतबार मात्रै ३–४ पटकसम्म सिस्टम अवरोध भयो भने केही ब्रोकरबाट सेयर कारोबार हुने, त कुनै ब्रोकरबाट सेयर कारोबार नै नहुने समस्या आयो ।

हिजो आइतबार मात्र पनि बजार जानकार हेमन्त बस्यालले आफ्नो फेसबुक स्टाटसमा एचआइडीसीएलको सेयरमा कृत्रिम माग  राखी चलखेल गर्ने प्रयास भएको दाबी गरे । जबकि सो कम्पनीको मार्केट डेप्थमा खरिद संख्या केबल ३२२ कित्ता मात्र देखाइएको, तर कुल मागमा भने ४ अर्ब बढी देखाई चलखेलको प्रयास भएको जिकिर गरे । यस विषयमा हामीले बस्याललाई थप बुझ्ने प्रयास गर्दा सिस्टम चलाउन लगइन  लिएका नेप्सेका आइटी विभागका पदाधिकारीे, सिस्टम भेण्डर वाइको प्रालिको बदमासी खुलेआम भइरहेको आरोप लगाए । ‘सिस्टम नै ह्याकरले प्रयोग गरी डेटा फालेको हु्नसक्ने उनको आशंका छ । 

बस्यालले यस्ता गलत तथ्याङ्क प्रवाह हुँदा बजारमूल्य समेत प्रभावित हुने उल्लेख गर्र्दै जिम्मेवारी नेप्सेले नै लिनुपर्ने र वित्तीय अपराध भइरहेको उनले दाबी गर्दै सुनियोजित वा प्राविधिक त्रुटिबाट भएको क्षतिपूर्ति कसले दिने ? भन्ने प्रश्न गरे । 

नेप्सेले आइटी पोलिसी लागू नगरेका कारणसमेत विभिन्न संस्थाहरुबाट ह्याकिङ गर्ने प्रयास भइरहेको यसअघि नै उसले आफैं स्वीकार गरिसकेको छ । 

पछिल्लो समय अनलाइन कारोबार प्रणालीमा रहेको कमजोर छिद्रबाट सीधै सिस्टममा नै पहुँच पुर्याई बजारमा इन्साइडर ट्रेडिङ गर्न नेप्सेका आइटी विभाग, केही ब्रोकर र केही ठूला लगानीकर्ताहरुको मिलीभगतमा पनि यस डेटामा चलखेलको प्रयास भइरहेको स्रोतको भनाइ छ । नेप्सेका आइटी विभागले समेत सिस्टममा भएको छिद्रका विषयमा समेत बाहिर नबोल्न आग्रह गरेको स्रोत दाबी गर्छ ।