-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि दोस्रो बजारका लगानीकर्ताहरुलाई पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्व अभ्यासको हवाला दिदैं कार्यान्वयनमा ल्याएको मोक ट्रेडिङलाई लगानीकर्ताहरुले जोक(ठट्टा)को संज्ञा दिएका छन् । 

एशियन सेक्युरिटीजमा भेटिएका सक्रिय लगानीकर्ता सुन्दर पाण्डेले लगानीकर्ताहरुमाथि नेप्सेले जोक गरिरहेको आरोप लगाए । ‘हामी लगानीकर्ताले बुझेका पनि छैनौं, बुझेका आधाले पनि अभ्यासमा उत्साह देखाएका छैनन् । लगानीकर्ताको आँखामा छारो हाल्नलाई मोक ल्याइएको जस्तो देखियो ।’–पाण्डेले बिजशालासँग भने ।

युजर पासवर्ड युएटीमा देखिएको अलमल र ओटीपी मेलमा नआउने भएर अत्यन्त समस्या भोग्नु  परेको पाण्डेले दाबी गरे । नेप्सेले बिना पूर्वाधार, बिना पूर्वतयारी र सचेतना अभिवृद्धिमा ध्यान नदिंदा करिब १३ लाख लगानीकर्ताले मोकको नाममा दुःख पाएका उनको गुनासो छ ।

नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणाली दशैं पहिले नै कार्यान्वयनमा ल्याउने भनिए पनि मोककै नाममा २ महिना पछि सारिएको छ । भाखा सार्ने र बोलीको टुंगो नहुने नेप्से नेतृत्वको प्रवृतिकै रुपमा देखिएको बिहीबार विभिन्न ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताले टिप्पणी गरिरहेका थिए ।

आईपीएस लगईन नहुने समस्या त छँदै छ त्यसका बाबजूद आज नेप्सेले दिएको यूआरएलमा पनि समस्या देखिएर लगानीकर्ताहरु ब्रोकर कार्यालयमा दिक्क मानिरहेका देखिन्थे । लामो अध्ययन र अनुसन्धानपछि कार्यान्वयनमा ल्याइएको भनिएको मोक ट्रेडिङमा नेप्सेले लापरबाही गरेको आरोप समेत लागेको छ ।

‘नेप्सेले मोक ट्रेडिङको नाममा लगानीकर्ताहरुलाई झुक्याइरहेको र मोकको नाममा भइरहेको यथार्थ तस्विर बाहिर ल्याउनबाट आर्थिक मिडियाहरु पनि चूके ।’ काठमाण्डौकी लगानीकर्ता सुनिता श्रेष्ठले बुधबार विभिन्न मिडियाका सम्पादकहरुलाई प्रेषित पाठकपत्रमा भनिएको छ–‘आम लगानीकर्ताको हैसियतले मंगलबारदेखि सुरु भएको भनिएको मोक ट्रेडिङको अनुभव लिन सकिएन । नेप्सेले उपलब्ध गराएको साईट चल्दै नचल्ने समस्याले हामीलाई सतायो । समस्याको सम्बन्धमा नेप्सेमा सम्पर्क गर्दा आफूले कारोबार गर्ने ब्रोकरकोमा सम्पर्क गर्न भनियो भने ब्रोकरकोमा सम्पर्क गर्दा नेप्सेमा नै सम्पर्क गर्न भनियो । यसबाट के स्पष्ट हुन्छ भने नेप्से मोक ट्रेडिङको नाममै समेत लगानीकर्ताहरुलाई झुक्याइरहेको छ ।’

नेप्सेले मोक ट्रेडिङमा समस्या आएको भन्दै बिहीबार ५० वटै ब्रोकरलाई अलग अलग यूआरएल उपलब्ध गराउँदै सूचना जारी गरेको थियो । अलग अलग यूआरएलबाट चाहि मोक ट्रेडिङमा सहभागी हुन सकिने नेप्सेको जिकिर छ । टेक्निकल कुरा भएकाले मोकमा समस्या आउनुलाई स्वभाविक मान्दै नेप्सेका एक अधिकारीले बिजशालासँग भने–‘यस्तै समस्या आउँछ भनेर नै हामीले लगानीकर्ताबाट फिडब्याक मागेका हौ । त्यसका लागि हामीले इमेल ठेगाना समेत सार्वजनिक गरिसकेका छौ । लगानीकर्ताले मोक ट्रेडिङको क्रममा भोगेका समस्याहरुको समाधान गर्दै उनीहरुलाई कारोबारमा अभ्यस्त बनाउने र त्यसपछि भरपर्दो ढंगले अनलाइन प्रणालीलाई कार्यान्वयनमा ल्याउने हाम्रो योजना हो । अहिलेको अवधि भनेकै समस्या आउने हो र तिनै समस्या समाधान गर्दै गएपछि लगानीकर्ता पनि अभ्यस्त हुने हुन् र सिस्टम पनि परिपक्व र सुरक्षित बन्दै जाने हो।’