काठमाण्डौ । कम्पनीहरुको वर्गीकरण सम्बन्धी संवेदनशील सूचना नेपाल स्टक एक्सचेञ्ज भित्रैबाट चुहिएपछि त्यसले युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा नराम्ररी प्रभाव पारेको छ । 

नेप्सेले नयाँ मापदण्डका आधारमा कम्पनीहरुको नयाँ ढंगले वर्गीकरण गरिरहेको छ । जसअनुसार यसअघि ए(क) वर्गमा पर्दै आएको युनिलिभर कम्पनी यो पटक बी(ख)मा परेको छ । यही सूचना बजारमा नेप्सेकै केही कर्मचारीबाट चुहिँदा त्यसको असर युनिलिभरको सेयर मूल्यमा परेको हो । 

यो दिन सेयर बजारकै ‘हटकेक– मानिने युनिलिभर नेपाल लिमीटेडको प्रतिकित्ता सेयर मूल्यमा १७ सय .भन्दा बढीले पहिरो गएको हो । यो कम्पनीको मूल्यमा ८ प्रतिशत भन्दा बढीको गिरावट देखिएको हो । 

नेप्सेस्थित उच्च स्रोतका अनुसार यो वर्ष यसअघि ए(क) वर्गमा पर्दै आएका निकै धेरै कम्पनीमा बी(ख)मा परेका छन् । 

युनिलिभर लिमीटेडका लगानीकर्ताले आइतबार प्रतिकित्तामा १७ सय ७३ रुपैयाँले गुमाएका छन् । यो उच्च गिरावटसँगै कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २२ हजार ५ सय ३१ रुपैयाँ कायम भएको छ । 

युनिलिभरका लगानीकर्ताले दशैंअघि ठूलै रकम गुमाए पनि समग्र बजार भने दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १४.१५ अंकले बढी १२४२.४३ को विन्दूमा फर्किएको हो । 

यो दिन वर्गका कम्पनीहरुमा उच्च खरीद चाप देखिएको छ । क वर्गका कम्पनी, विशेष गरी वाणिज्य बैंकहरुले दशैं लगत्तै धमाधम लाभांश घोषणा गर्ने लोभका कारण लगानीकर्ताले खरिदारी बढाएका हुन् । यो दिन सेन्सेटिभ इण्डेक्स ३.५१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२१ अंकको बढोत्तरी भएको छ । 

यसअघि त्रैमासिक ब्याज भुक्तानीको दवाब र दशैं खर्चको जोहो गर्नुपर्ने बाध्यतामा रहेका लगानीकर्ताहरुले बिक्री बढाउँदा बजार घटे पनि ती दुवै बाध्यता अन्त भइसकेकोले समेत लगानीकर्ताले लगानीकर्ताले खरिदारी बढाएका विश्लेषकहरुले बताएका छन् । 

यसैगरी, बैंकहरुबीच पछिल्लो समय ब्याजदर घटाउने बिषयमा भएको भद्र सहमतिले समेत बजारमा सकारात्मक प्रभाव पारेको बताइएको छ । 

यो दिन जलविद्युत समूहमा १.३१ अंक तथा उत्पादनमूलक समूहमा ९५.७३ अंकको गिरावट आयो भने बाँकी सबै समूह हराभरा भए । 

बैंकिंग समूह १७.३७ अंकले बढेको यो दिन होटल समूह ५५.३४ अंक, विकास बैंक समूह १८.१५ अंक, बित्त समूह ३.२४ अंक, निर्जीवन बिमा समूह ८७.६१ अंक, जीवन बिमा समूह ५७.४९ अंक, माइक्रोफाइनान्स समूह ११.१४ अंक तथा अन्य समूह ४.२७ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १० लाख १६ हजार ४ सय ६० कित्ता सेयर २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाँमा कारोबर भयो । 

सबैभन्दा बढी कारोबार एनएमबी बैंकले २ करोड ४५ लाख बढीको कारोबार गर्यो । यसैगरी, मेगा बैंकले २ करोड १८ लाख, जनता बैंक नेपालले २ करोड १० लाख, एनआइसी एशिया बैंकले १ करोड ५७ लाख, प्रभू बैंकले १ करोड ५५ लाख, कुमारी बैंकले १ करोड ३२ लाख, प्राइम कमर्सियल बैंकले ९३ लाख, सानिमा बैंकले ८७ लाख, माछापुच्छे बैंकले ८० लाख र सिभिल बैंकले ७६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनएमबी सुलभ फण्डका इकाईधनीले धेरै गुमाए । यो कम्पनीको आकर्षक लाभांशको लोभमा लगानीकर्ता परेका देखियो । यहीकारण यो स्किमको इकाईमूल्यमा ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

सबैभन्दा बढी युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ७.२९ प्रतिशतको गिरावट आयो ।