काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार सामान्य करेक्सन भई २.५२ अंकले घटी १४७१.९५ अंकमा झरेको छ । 

बजार खुल्दा १४७३.१४ अंक रहेको नेप्सेका अधिकांश समूहको सूचक मंगलबार रातो भयो । 

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कुल १ सय ३३ कम्पनीका २३ लाख २६ हजार कित्ता शेयर ९६ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ । 

अरुबेला लगातार बजारलाई उचालिरहेको बिमा समूहको सूचक मंगलबार घटेको छ । यो समूहको सूचक दोहोरो अंक अर्थात ६०.५६ अंकले गिरेको हो । विकास बैंक समूहको सूचक समेत ७.२३ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूह ०.८६ अंकका साथ गिरावटकै मारमा पर्यो भने बित्त  तथा अन्य समूहको सूचक पनि घटे । 

अरु बेला बजारमा दबदबा कायम गरेका बिमा र वाणिज्य बैंक समूहको सूचक ओरालो लाग्दा उत्पादन समूह र होटल समूहे दोहोरो अंकका साथ उक्लिए । यी दुई समूहको नेप्से परिसूचक क्रमशः ३३.७३  र १६.२६ अंकले उकालो लागे । जलविद्युत समूहको सूचक समेत २.९४ अंकले उक्लियो । 

मंगलबार सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः ०.५९ र ०.१८ अंकले ओरालो लागे । समूह सूचक रातो भए पनि कारोबारको हिसाबले धेरै मंगलबार कारोबारका हिसाबले टप १० कम्पनीमध्ये ८ वटा वाणिज्य बैंक नै परेका छन् । एभरेष्ट बैंकको शेयर कारोबार मात्र ७ करोड ९३ लाख बढीको भयो । वाणिज्य बैंकको कारोबार मात्र ४० करोड रुपैयाँ पुगेको छ ।