काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर यही साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुने भएको छ।

एकैसाथ सार्वजनिक निष्कासन गरेका रिलायन्स लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जीको सेयर दोस्रो बजारमा कारोबारमा आइसकेको अवस्थामा समाज लघुवित्तको चाहिँ संस्थाकै कारण नेप्सेमा सूचीकरण हुन ढिलाइ भइरहेको छ। नेप्सेका अनुसार आवश्यक कागजात सबै तयार भई आज नेप्से र समाज लघुवित्तबीच सूचीकरणसम्बन्धी सम्झौता हुन गइरहेको थियो। तर समाज लघुवित्तका पदाधिकारीहरुको अत्यावश्यक काम परेकाले नेप्सेस्थित कार्यालयमा उपस्थित हुन अझै २÷३ दिन समय लाग्ने सूचना आएकाले सूचीकरण हुन नसकेको नेप्सेले जनाएको छ।

समाज लघुवित्त ३ जिल्ला कार्यक्षेत्र भएको संस्था हो। यसको केन्द्रीय कार्यालय सर्लाहीको मलगंवा रहेको छ। संस्थाको प्रमुख कार्यकारी अधिकृतमा किशोरी महतो छन्।

नेप्ले के दियो कोड र कति तोक्दैछ ओपनिङ प्राइस रेन्ज?

नेप्सेले समाज लघुवित्तलाई एसएएमएजे (समाज) कोड प्रदान गरेको छ। संस्थाको गत आवको प्रतिसेयर नेटवर्थका आधारमा प्रतिकित्ता रु. ८८.४५ देखि रु. २६५.३५ ओपनिङ प्राइस रेन्ज हुनेछ। 

अर्थात् नेप्सेसँग सूचीकरण भएको भोलिपल्ट दोस्रो बजारमा स्पेसल प्रिओपन सेसनमा पहिलो कारोबार प्रतिकित्ता रु. ८८.४५ देखि रु.२६५.३५ ओपनिङ प्राइस रेन्जभित्र कारोबार हुनेछ। समाज लघुवित्तले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म ८६ हजार कित्ता आईपीओ बिक्री गरेको थियो।