काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि उकालो लाग्न थालेको बजारमा आइतबार उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१८ अंकले बढेर १४३८.४९ विन्दूको उचाईमा पुगेको हो ।

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ८२ प्रतिशत काम सकिसकेको र पूर्व निर्धारित समयबाट नै पूर्ण स्वचालित प्रणालीको सुरुवात हुने बिषयमा ढुक्क देखिएका लगानीकर्ताले एकाएक सेयर खरिदारी बढाएका हुन् । 

इण्डेक्समा उछालसँगै कारोबार रकम पनि एकवर्षकै उच्च स्तरमा पुगेको छ । यो दिन १ अर्ब २३ करोड बढीको सेयर किनबेच भएको हो । यति धेरै कारोबार विगत एकवर्षको अवधिमा भएको थिएन ।

बैंक तथा बित्तीय संस्थाहरुले उत्साहजनक तेश्रो त्रैमासिक रिपोर्ट प्रस्तुत गरिरहँदा यसले बजारलाई बुम गराएको छ । यस्तै, विगतका वर्षहरुमा झै चैत मसान्तसम्म चूप लागेर बसेका लगानीकर्ता समेत नयाँ वर्षदेखि एकाएक सलबलाउन थालेपछि यसले समेत बजारमा खरीद चाप ह्वात्तै बढाएको छ । सरकारको पूँजीगत खर्च बढेर तरलताको अवस्थामा सामान्य सुधार देखिएको छ भने सरकारले बजेट सार्वजनिक गर्ने र त्यसमार्फत बजारलाई सम्बोधन हुने नीति समेत आउने लगायतका खबरले समेत लगानीकर्ताको मनोबललाई उच्च बनाइदिएको छ । 

यस्तै, नेप्सेले सेमी अनलाइन कारोबार प्रणालीको सुरुवात गरिसकेको र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ८२ प्रतिशत काम सकिसकेको र पूर्व निर्धारित समयबाट नै पूर्ण स्वचालित प्रणालीको सुरुवात हुने बिषयमा ढुक्क देखिएका लगानीकर्ताले एकाएक सेयर खरिदारी बढाएका हुन् । 

तेश्रो त्रैमासको रिपोर्ट हेरेर लगानी  गरे लगानी गरेको करिब ६ महिनामै रिटर्न पाउने अवस्थाका कारण समेत लगानीकर्ताहरुले बैशाखदेखि सेयर खरिदारी बढाउँछन् । 

सूचिकृत कम्पनीहरुले आर्थिक वर्षको सुरुवात भएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ, त्यसभन्दा अघि नै उनीहरुले लाभांश घोषणा गर्नेछन् । अधिकांश सूचिकृत कम्पनीहरुले निकै चाँडो साधारणसभा गर्ने गरेका छन् । यसकारण समेत लगानीकर्ताले बैशाखमा खरिदारीलाई बढाउने गर्छन् । यही प्रवृतिले समेत पछिल्लो समय बजारमा उछालको अवस्था ल्याउन सहयोग गरेको विश्लेषकहरु बताउँछन् । 

आइतबार के-के भयो ?
आइतबार सबै समूहको सूचक हराभरा भए । क वर्गका कम्पनीमा खरिदको चाप देखिएका कारण धेरै समयको अन्तरालपछि सेन्सेटिभ इण्डेक्स एकैदिन १०.०८ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ३.९३ अंकले बढेको छ । 

यो दिन माइक्रोफाइनान्स, बिमा र जलविद्युत समूहमा उछाल आयो । माइक्रोफाइनान्स समूहको सूचक १००.२३(५.८९ प्रतिशत) अंकले बढ्यो भने बिमा समूहमा ३५२.९९(५.०३ प्रतिशत)अंक तथा जलविद्युत समूहमा ८९.८८(५.२६ प्रतिशत) अंकको बढोत्तरी भयो । 

बैकिङ समूह ३९.३१ अंकले बढ्यो भने होटल समूहमा ६५.२ अंक, विकास बैंकमा ६१.६६ अंक, बित्त समूहमा २३.१४ अंक, उत्पादनमूलकमा ४०.३८ अंक, र अन्य समूहमा १२.५७ अंकको वृद्धि भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार ९ सय ४३ कित्ता सेयर १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ५ करोड ३९ लाख बढीको कारोबार गर्यो । ४ करोड ४० लाख बढीको राष्टिय बिमा कम्पनी लिमीटेडको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ३ करोड ७५ लाख बढीको कारोबार गरेको छ । सानिमा बैंकले आइतबार पस्किएको सन्तोषजनक  प्रगति विवरणले यो बैंकप्रति लगानीकर्ताको आकर्षण देखिएको छ । 

यो दिन नेपाल बैंकले ३ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ६१ लाख बढीको कारोबार गरे भने राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ३ करोड ६० लाख बढीका साधारणसेयरको समेत किनबेच भयो । यस्तै, सानिमा हाइड्रोपावरले ३ करोड ३८ लाख, चिलिमे हाइड्रोले २ करोड ६५ लाख, सिद्धार्थ बैंकले २ करोड ६१ लाख र प्राइम कमर्सियल बैंकले २ करोड ३७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २१ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । अरुण काबेली पावर लिमीटेड, एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक सेयरधनी, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए । यी सबै कम्पनीको मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो । 

सेन्ट्रल फाइनान्स, काबेली विकास बैंक, अपी पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, नेपाल कम्युनिटी  डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पनि कुस्त कमाए । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

हिमालयन पावर पार्टनर लिमीटेड, रिलायन्स फाइनान्स, समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, स्वालम्बन लघुवित्त बित्तीय संस्था, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर लिमीटेडको सेयरधनीले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।