काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको पहिरो गएको छ । यो दिन नेप्से परिसूचक १२.५१ अंकले गिरावट भई १३५३.६४ विन्दूमा झरेको छ । कारोबार रकम पनि ३६  करोडमा झरेको छ ।

बजार परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) समानान्तर ढंगले घट्नुले भविष्यमा बजारमा अझ ठूलो गिरावट आउनेतर्फ संकेत गर्ने विज्ञ बताउँछन् । तर, बजारको एकदिनको यस्तो प्रवृतिबाटै बजारमा आगामी दिनमा गिरावट आउँछ भन्न सकिन्न । यस्तो प्रवृति केही दिनसम्म जारी रहे बजार घट्नसक्ने उनीहरु बताउँछन् । 

यो दिन बित्त समूहमा ०.०६ अंकको झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । बैकिंग समूह ११.५५ अंकले घटेको छ भने होटल समूह ३१.०७, विकास बैंक समूह १३.४३ अंक, जलविद्युत समूह १९.८१ अंक, बिमा समूह ६८.३२ अंक, उत्पादमूलक ८.६६ अंक, माइक्रोफाइनान्स ७.५४ अंक र अन्य समूह ६.६१ अंकले घटेको छ । 

यो दिन‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.९१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९४ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने  कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ८ लाख ४३ हजार ४ सय १० कित्ता सेयर ३६ करोड १६ लाख ९६ हजार ७ सय ६३ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले २ करोड बढीको कारोबार गरेको छ । बुटवल पावर कम्पनी लिमीटेडले १ करोड ८९ लाख बढीको कारोबार गरेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५५ लाख, स्वदेशी लघुवित्तले १ करोड ५२ लाख, शिखर इन्स्योरेन्सले १ करोड १९ लाख, नेपाल इन्स्योरेन्सले ९७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ९४ लाख, सांग्रील डेभलपमेन्ट बैंकले ९१ लाख, प्रिमियर इन्स्योरेन्सले ८९ लाख र चिलिमे हाइड्रोले ८० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट बैंकको प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा बढी ७.७६ प्रतिशतले वृद्धि भयो । सपोर्ट माइक्रोफाइनान्स र सेन्टल फाइनान्सका लगानीकर्ताले समेत ५ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए ।

यो दिन सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले घट्यो ।