काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ८.२२ अंकले घटेर ११८८.०७ को विन्दूमा सीमित बन्न पुगेको हो । 

बजार बुस्ट गर्ने नीतिको अभाव, ब्याजदर, ठूला लगानीकर्ताले सेयर बजारको साटो बैंकहरुको मुद्धती निक्षेपमै पैसा राख्ने प्रवृतिमा सुधार नभएका कारण लगायतले बजार घटाएको विश्लेषकहरुले बताएका छन् । यस्तै, सूचिकृत कम्पनीहरुले लगानीकर्तालाई बोनस सेयरको साटो लाभांशमा बढी जोड गर्न थालेकोले समेत बजारमा लगानीकर्ताको उत्साह मार्ने काम गरेको कतिपयको विश्लेषण छ । 

केही विश्लेषकले यो साता बजार घटेर ११८० सम्ममा आउने प्रक्षेपण यसअघि नै गरिसकेका छन् । बजार बढेको अवस्थामा यो साताको अन्तिम सातासम्म १२५० सम्म पुग्ने उनीहरुको प्रक्षेपण छ । 

पछिल्लो समय केही दिन बढेको बजारमा सर्टटर्म कारोबारी हाबी भए । बजारमा वृद्धिको यात्रा सुरु हुने अपेक्षाका बीच ठूला लगानीकर्ता पनि सलबलाएका थिए । तर, उनीहरुमा आएको उत्साह केही दिन पनि टिकेन । 

यो ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स १.७८ अंकले घट्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५९ अंकको गिरावट देखियो । 

यो दिन उत्पादनमूलक समूहको सूचक ११.१५ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

बैंकिंग समूह ५.४२ अंकले घट्यो भने होटल समूह ५.१७ अंक, विकास बैंक समूह १३.१२, जलविद्युत समूह २३.६३, बित्त समूह २.६९, निर्जीवन बिमा समूह ५९.७४, जीवन बिमा समूह ७५.२, माइक्रोफाइनान्स समूह ११.६९ र अन्य समूह ४.६८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन बजारमा १ सय ६० कम्पनीका ६ लाख ३ हजार १ सय २ कित्ता सेयर २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८९ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । बाँकी कुने पनि कम्पनीले १ करोड माथि कारोबार गर्न सकेनन् ।

इन्भेष्टमेन्ट बैंकको ९१ लाख बढीको साधारण सेयर किनबेच भएको बजारमा नवील बैंकले ८६ लाख, चिलिमे हाइडोले ८१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६८ लाख, बोटलर्स नेपाल((तराई) लिमीटेडले ६७ लाख, ग्लोबल आइएमई बैंकले ६५ लाख बढीको कारोबार गरे । सेञ्चुरी कमर्सियल बैंकको ५५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम लाइफ इन्स्योरेन्सले ५५ लाख र प्राइम कमर्सियल बैंकले ५२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले वृद्धि भयो । जानकी फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ९.३७ प्रतिशतको पहिरो गयो ।