काठमाण्डौ । सस्तोमा वाणिज्य बैंकको सेयर किनेर लगानीकर्ताले होल्ड गर्न थालेका छन् । वाणिज्य बैंकको सेयर किनेर होल्ड गरेका लगानीकर्ता सस्तो मूल्यमै जलविद्युत र बिमा कम्पनीहरुको सेयर खरीदमा कम्मर कसेर लागेका छन् । बजारमा मंगलबार यही प्रवृति देखिएको छ । 

परिणामतः बैंकिङ समूहको सूचकमा झिनो गिरावट आएको छ भने जलविद्युत समूहमा उछाल देखिएको छ । निर्जीवन बिमा समूहमा समेत उल्लेख्य बढोत्तरी भएको छ भने जीवन बिमा समूहको वृद्धि औसत रहेको छ । 

बजारमा धेरै होल्ड रहेको बैंकिङ समूहमा गिरावट आएकै कारण नेप्से परिसूचकमा २.४१ प्रतिशतको झिनो बढोत्तरी मात्र भयो । यो दिन कारोबार रकम केही कम भई ४६ करोड ६९ लाखमा सीमित भयो । 

यो दिन बैंकिङसँगै  होटल समूहमा २५.९३ अंकको गिरावट आयो भने बित्त समूह १.८५ अंकले घट्यो । बाँकी सबै समूहमा हरियाली छायो ।

जलविद्युत समूहमा ४२.१२(३.०३ प्रतिशत)अंकको उछाल देखियो । निर्जीवन बिमा समूह ७३.९५ अंकले बढ्यो भने जीवन बिमा समूहमा १९.६१ अंकको वृद्धि भयो । विकास बैंक समूह १.७१ अंकले बढेको यो दिन माइक्रोफाइनान्स ९.४५ अंक, उत्पादनमूलक ८.१२ अंक तथा अन्य समूह २.४२ अंकले बढे । 

यो दिन ‘क’ वर्गका कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले बढ्यो ।  समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१४ अंकको वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका १५ लाख ५९ हजार ४ सय २ कित्ता सेयर ४६ करोड ६९ लाख ७२ हजार १ सय ९६ रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी नेको इन्स्योरेन्सले ३ करोड ३९ लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले २ करोड ४७ लाख बढीको कारोबार गरेको यो दिन प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ७३ लाख, एनआइसी एशिया बैंकले १ करोड ६५ लाख, नेपाल इन्स्योेरेन्स कम्पनीले १ करोड २३ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड १५ लाख, सानिमा माई हाइडोले १ करोड १२ लाख, कुमारी बैंकले १ करोड १० लाख, जनता बैंकले १ करोड ५ लाख र प्रभू इन्स्योरेन्सले १ करोड ५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुण काबेली पावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.८४ प्रतिशतले बढ्यो । यस्तै, भार्गव विकास बैंकका लगानीकर्ताको सम्पत्ति ९.२७ प्रतिशतले वृद्धि भयो । 

यो दिन हाथ्वे फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीले घट्यो ।