काठमाण्डौ । वाणिज्य बैंकसँगै लगानीकर्ताहरु अन्य उपसमूहको कम्पनीमा समेत लगानी गर्न थालेपछि नेप्से परिसूचकमा बिहीबार समेत दोहोरो अंकको बढोत्तरी भएको छ । विगत केही दिनदेखि वाणिज्य बैंकहरुमा अन्य समूहको तुलनामा लगानीकर्ताको आकर्षण बढी देखिएको थियो । तर, लगानीकर्ता बिस्तारै अन्य समूहतर्फ समेत आकर्षिक हुन थालेका देखिएको छ । 

बिहीबार वाणिज्य बैंक समूहको सूचकसँगै विकास बैंक समूह, जीवन बिमा र निर्जीवन बिमा समूहको सूचकमा पनि उछाल आयो । बजारका अधिकांश समूहमा  लगानीकर्ता प्रवेश गर्न थालेसँगै कारोबार रकममा उछाल आएको छ । निकै लामो समयपछि कारोबार रकम १ अर्ब ३५ करोड माथि पुगेको छ ।

यो दिन नेप्से परिसूचक १२.८३ अंकले बढेर १२९२.१२ विन्दूमा पुगेको छ भने सबै उपसमूहको सूचक हराभरा भएका छन् । साताको अन्तिम कारोबार दिन विकास बैंक समूह, जीवन तथा निर्जीवन बिमा र उत्पादनमूलक समूहमा उछालको अवस्था देखिएको छ । बैंकिङ समूह पनि १०.०९ अंकले बढेको छ । 

यो दिन विकास बैंक समूहको सूचकमा ४५.२९ अंक(२.९४ प्रतिशत)को बढोत्तरी भयो । 

यस्तै, जीवन बिमा समूह ८९.९१ अंक, निर्जीवन बिमा समूह ७४.८४ अंक, उत्पादनमूलक २२.९ अंकले बढे । 

होटल समूहमा २१.५ अंकको बढोत्तरी भएको यो दिन जलविद्युत समूह ५.२४ अंक, बित्त समूह ०.८८ अंक, माइक्रोफाइनान्स १०.३९ अंक र अन्य समूह ६ अंकले बढेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका ४५ लाख २२ हजार २६ कित्ता सेयर १ अर्ब ३५ करोड ८४ लाख २९ हजार ९५७ रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी नेपाल बैंकले १८ करोड १४ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले ७ करोड ३० लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ७ करोड २६ लाख, छिमेक लघुवित्तले ६ करोड ६० लाख, कृषि विकास बैंकले ५ करोड ४३ लाख, एनएमबी बैंकले ५ करोड ३४ लाख, सानिमा बैंकले ४ करोड ६१ लाख, एनआइसी एशियाले ४ करोड ५१ लाख, जनता बैंक नेपालले ३ करोड ९८ लाख र सिद्धार्थ बैंकले ३ करोड ४७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट इन्स्योरेन्स र कृषि विकास बैंकले सर्किट हाने । उच्च समाचार स्रोतका अनुसार कृषि विकास बैंकको ३ अर्ब रुपैयाँ बढीको खराब कर्जाको रिकभरी भएका कारण तेश्रो त्रैमासको प्रगति उत्साहजनक रहने सूचना चुहिएपछि यो बैंकको सेयर उठाउनेहरुको मरिहत्ते देखिएको हो ।

एभरेष्ट इन्स्योरेन्स विगत केही दिनमा झै यो दिन पनि सबैभन्दा बढी मूल्य बढ्ने कम्पनी बन्यो । 

यो दिन तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.३० प्रतिशतले घट्यो ।