काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ ।

करिब २० प्रतिशतले बढेको बजारमा अघिल्लो सातादेखि करेक्सनको क्रम सुरु भएको थियो । यसले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको हो।

बजारका जानकार तथा विश्लेषकहरुले आइतबारको करेक्सनलाई पनि प्राकृतिक नै भनेका छन् । बढ्दो बजारको स्थायित्वका लागि करेक्सन अनिवार्य रहेको र यस्तो करेक्सनले बजारलाई झनै बलियो र आगामी बुलिस यात्रा अझ सुखद् बनाउने उनीहरुको तर्क छ ।

नेप्सेमा यो दिन दोहोरो अंकको करेक्सनसँगै कारोबार रकम पनि घटेको छ। नेप्से इन्डेक्ससँगै कारोबार रकम समानान्तर ढंगले घट्ने ट्रेन्ड भने बजारको सुखद् भविष्यका लागि राम्रो संकेत होइन । यस्तो प्रवृत्ति केही दिनसम्म निरन्तर रह्यो भने त्यसले बजारको बुलिस यात्रालाई अनिश्चित बनाइदिन सक्ने डर उत्पन्न हुन सक्छ । तर एक–दुई दिनकै बजार प्रवृत्ति हेरेर बुलिस यात्रा अनिश्चित हुन्छ भन्नु हतार हुन सक्छ ।

यो दिन नेप्से इन्डेक्स २०.७९ अंकले करेक्सन आउँदै १२७६.६८ विन्दुमा झर्यो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घट्दै २७४.६२ विन्दुमा सीमित बन्न पुग्यो ।

आजको दिन नेप्सेमा रहेका १२ वटै उपसमूहमा रातो पोतियो । बैंकिङ समूहमा १८.४५ अंकको गिरावट आएको यो दिन व्यापार समूहमा १६.७३ अंकले घट्यो । होटेल्स् समूहमा ३९.८ अंक, विकास बैंकमा २१.३१ अंक, जलविद्युत् समूहमा १८.९६ अंक, वित्त समूहमा १०.६७, निर्जीवन बिमा समूहमा १५१.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २६.०५ अंक, अन्य समूहमा ६.७२ अंक, लघुवित्त समूहमा २६.८१ अंक, बिमा समूहमा १२४.९९ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृत १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता सेयर ९६ करोड ५० लाख १८ हजार ६६२ रुपैयाँमा कारोबार भयो । 

डिप्रोक्स लघुवित्तले ८ करोड २६ लाख रुपैयाँबराबरको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ६ करोड ४५ लाख रुपैयाँको कारोबार गर्न सफल भयो । ग्लोबल आईएमई बैंकले ६ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टले ३ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले २ करोड ९९ लाख रुपैयाँ, प्रभु बैंकले २ करोड ९६ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले २ करोड ६८ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सले २ करोड ५५ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले २ करोड २९ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले २ करोड २७ लाख रुपैयाँबराबरको कारोबार गरे । 

धेरै कमाउने, धेरै गुमाउने

यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

आज जानकी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आयो ।