काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा एकैदिन रु. ५ अर्ब बढीको कारोबार ? तपाईलाई सुनेर वा यो समाचार पढेर अचम्म लाग्यो होला । अचम्म नमान्नुहोस्, यदि साताको अन्तिम कारोबार दिन आज बजारको कारोबार अवधि बन्द भए लगत्तै नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाइट कसैले हेरेको थियो भने उसले यही तथ्याङ्क देख्ने थियो । 

बजारका तथ्याङ्कहरुलाई तोडमोड गर्न, बङ्ग्याउन र गलत तथ्याङ्क आधिकारिक वेबसाइटमा राखेर लगानीकर्तालाई दिग्भ्रमित तुल्याउने गतिविधि लामो समयदेखि गर्दै आएको नेप्सेले बिहीबार बजार बन्द भएलगत्तै पनि यस्तै काम गर्यो । 

कारोबार अवधि सकिएलगत्तै नेप्सेको वेबसाइटमा ५ अर्ब ४५ करोड बढीको सेयर कारोबार भएको देखियो । 

त्यति मात्र होइन, १ करोड १३ लाख ४६ हजार १०१ कित्ता सेयर कारोबार भएको समेत देखियो । १८० कम्पनीका सेयर ४६ हजार ९२५ वटा कारोबारमार्फत किनबेच भएको समेत देखियो । 

एक मिनेट अगाडि मात्र बजारमा २ अर्ब ७० करोडको हाराहारीमा कारोबार रकम देखेका ब्रोकर, लगानीकर्ता नेप्सेको वेबसाइटको यो गाइजात्रे ताल देख्दा एकछिन त रणभूल्लमै परे । एक मिनेटकै अन्तरमा कारोबार रकम कसरी २.७ अर्बबाट ५.४५ अर्ब पुग्यो ? उनीहरु एकअर्कालाई फोन घुमाउन थाले । 

नेप्सेको वेबसाइटमा कारोबार रकम एकैदिन ५ अर्ब ४५ करोड पुर्याइएको यो विषयले तीव्र चर्चा पाइरहेकै बेला फेरि नेप्सेले हतार–हतार आफ्नो गल्ती सच्यायो र हालसम्मकै सर्वाधिक कारोबार भएको तथ्य पेश गर्यो । 

नेप्सेले एकातिरको तथ्याङ्कमा मात्रै यस्तो गाइजात्रे रुप देखाएको होइन । कारोबारका आधारमा टप कारोबार भएका कम्पनीहरुको सूचिमा समेत यस्तै देखियो । यो दिन शिवम सिमेन्टले  ३३ करोड बढीको कारोबार गरेको तथ्यांक त्यहाँ थियो । हिमालयन डिस्टीलरी, नेपाल लाइफ जस्ता कम्पनीले २४ करोड बढीको कारोबार गरेका देखाइयो भने ग्रामीण विकास लघुवित्तले २१ करोड, शिखर इन्स्योरेन्सले २० करोड, नेको इन्स्योरेन्सले १६ करोड, फ्रस्ट माइक्रोफाइनान्सले १५ करोड बढी, नागरिक लगानीकोषले पनि १५ करोड बढी र मेरो माइक्रोफाइनान्सले १४ करोड बढीको कारोबार गरेको वेबसाइटमा देखाइयो । 

कारोबार रकम एकमिनेटमै पौने तीन अर्बबाट बढेर ५.४५ अर्ब पुगेको देखेर तर्सिएका लगानीकर्ता धेरै कारोबार गर्ने कम्पनीतर्फको यो मिथ्याङ्कले झनै ठूलो बिलखबन्दमा परे । 

आखिर नेप्सेले सबैतिरको तथ्याङ्कमा यसरी गल्ती किन गर्यो होला त ? के कारणले यस्तो भएको होला ? नेप्सेको आइटी प्रमुख निशा तिम्सिनासँग यो विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहिनन् । 

अरु बेला पनि उस्तै गाइजात्रा
नेप्सेको वेबसाइटमा प्रस्तुत तथ्याङ्क पछिल्लो समय पत्याउने या नपत्याउने भन्ने द्विविधा सिर्जना हुँदै गएको छ । कारण, नेप्सेले आफ्नो आधिकारिक वेबसाइटमा तथ्याङ्कको नाममा यस्ता मिथ्याङ्कको खेती गरेको पनि धेरै भइसक्यो । 

बजार तीव्र गतिमा बढ्दै जाँदा वेबसाइट नै नचल्नु, लगानीकर्ताले सही सूचना सही समयमा थाहा पाउन नसक्नू जस्ता समस्या दैनिकजसो झेलिरहेका छन् । तर, यस्तो समस्या समाधानका लागि नेप्सेले भरपर्दो प्रयास गरेको छैन । 

बजारको फ्रन्ट लाइन रेगुलेटरले वेबसाइटमा राख्ने तथ्याङ्कमा मनपरी गरिरहँदा र गाइजात्रा देखाइरहँदा यो विषयमा नियामक धितोपत्र बोर्डले पनि चासो दिएको छैन । सरकारका अन्य निकाय समेत मौन छन् । जसका कारण नेप्सेभित्रकै कुनै गिरोहले सिस्टम बिगारेर वा तथ्याङ्कमा खेलेर चलखेल गरिरहेको छ कि भन्ने शंका बढ्दै गएको छ।

नेप्सेको अनलाइन प्रणालीमा अर्थमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल धितोपत्र बोर्डले गोप्य रुपमा चासो देखाएपछि दवाबमा परेका नेप्से प्रमुख चन्द्रसिंह साउदले गत साता होटल हिमालयमा ब्रोकर, अनलाइन प्रणालीको भेण्डर कम्पनी, नेप्सेको आइटीका कर्मचारी लगायतलाई ९ घण्टा छलफलमा राखेका थिए । सो क्रममा उनले नेप्सेको वेबसाइट तथा अनलाइन प्रणालीमा समस्या आइरहेका स्वीकार गर्दै सुधार्नुपर्ने पक्षहरुको विषयमा समेत सुझाव मागेका थिए । उनले छलफलमा सुझाव माग्ने औपचारिकता देखाए पनि वाइको, नेप्से र ब्रोकरहरुको सहभागिता बनेको टिएमएसको भाइबर ग्रुपमा दैनिकजसो अनलाइन तथा वेबसाइटसँग सम्बन्धित समस्या पोस्ट समेत हुने गर्छ । ती विषयमा नेप्सेले चासो नदिंदा ब्रोकर समेत दिक्क बनिसकेका छन् । निकट समयमै भेण्डर कम्पनी वाइकोले अनलाइनको सिस्टम नेप्सेलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ, तर समस्या पनि ज्यूँका त्यूँ नै छ ।