काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा उछाल आएको छ।

आज नेप्से परिसूचक वृद्धिसँगै कारोबार रकमसमेत ह्वात्तै बढेर डेढ अर्ब नाघेको छ। आज नेप्से परिसूचक नियमति रुपमा नै उकालो गति समाइरह्यो। निर्जीवन बीमा र लघवित्त समूहमा लगानीकर्ताको आकर्षणले परिसूचकमा सकारात्मक भूमिका खेलेको देखिन्छ। 

आज प्रकाशित एभरेष्ट इन्स्योरेन्सको लोभलाग्दो वित्तीय प्रतिवेदनले समेत समग्र निर्जीवन बीमा समूहमा उछाल देखियो। उसो त लघुवित्त कम्पनीहरुको समेत वित्तीय प्रतिवेदन आशातीतभन्दा धेरै राम्रो आएपछि लगानीकर्ताहरु लघुवित्तमा सिफ्ट भएको देखिन्छ।

पछिल्लो समय सूचीकृत कम्पनीहरुको चौथो वित्तीय प्रतिवेदन धमाधम प्रकाशित हुने क्रमले निरन्तरता पाएसँगै लगानीकर्ताहरुले समेत खरिदचाप बढाएका कारणले नेप्से परिसूचकमा उछाल आएको हो। सेयर बजार प्राविधिक जानकारहरुले समेत नेप्से परिसूचक १४१५ को अर्को खड्गो काटेपछि १६ को विन्दु सजिलै कट्ने दाबीलाई आधार मान्ने हो भने पनि परिसूचक आगामी दिन निकै माथि जाने देखिन्छ। परिसूचकको वृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य साथ दिनु अब बजारले उकालो गति समाउने तय भएको विश्लेषकहरु बताउँछन्।

आज नेप्से परिसूचक ३७.७४ अंकको वृद्धि १४३०.४२ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक ७.६३ अंकको बढोत्तरीसँगै २९८.६४ को उचाइमा पुगेको छ।

आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये म्युचुअल फन्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ।

यो दिन निर्जीवन बीमा समूहमा २८३.०८ अंक र जीवन बीमा समूहमा २२३.१५ अंकको बढोत्तरी भएको छ। यस्तै बैंकिङ समूहमा ३२.९३ अंक, व्यापार समूहमा १०.१४ अंक, होटेल्स् समूहमा ५८.१ अंक, विकास बैंक समूहमा ५५.४१ अंक, जलविद्युत् समूहमा २३.२३ अंक, वित्त समूहमा ७.६७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५४.८६ अंक, अन्य समूहमा १२.६३ अंक र लघुवित्त समूहमा ७१.५७ अंकको उछाल आएको छ।

आज म्युचुअल फन्ड समूहमा भने ०.०३ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४२ हजार ५२ हजार ८०८ कित्ता सेयर १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी एनएमबी बैंकको ७ करोड ७९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ९२ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँ, एभरेस्ट इन्स्योरेन्सको ४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भयो।

धेरै कमाउने र धेरै गुमाउनेहरु

आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। साधना लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यसैगरी घोडीघोडा लघुवित्त र एभरेस्ट इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

यो दिन दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।