काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंक गिरावट आएर बजार बन्द भएको छ। 

आज नेप्से परिसूचकमा निकै उत्तारचढाव देखियो। बजार बन्द हुँदा नेप्से परिसूचक १६.५३ अंकको गिरावटका साथ १४०८.७९ को विन्दुमा सीमित बन्न पुगेको छ। 

सूचीकृत कम्पनीहरुका चौथो वित्तीय प्रतिवेदन सार्वजनिक भइरहँदा बजारमा राम्रा कम्पनीहरुको सेयर खरिदबिक्रीमा चाप देखियो। लगानीकर्तामा सेयर खरिदचाप पनि अचाक्ली देखियो। यद्यपि बजार घट्दो ट्रेन्डमा रहेका बेला स्मार्ट लगानीकर्ताहरु निकै चलाखीपूर्वक मोलतोलमा लागेको देखियो। 

नेप्सेले उपलब्ध गराएको मार्केट डेप्थ हेर्दा अधिकांश कम्पनीका सेयरमा खरिदचाप देखिन्छ। यद्यपि लगानीकर्ताहरु अझै घटाएर किन्ने दाउमा रहेकाले समेत निकै मोलतोल भइरहेको प्रस्ट हुन्छ।

दस दिनको अन्तरालमा काठमाण्डौमा कोरोना संक्रमितको संख्या तेब्बर हँुदा त्यसको नकारात्मक मानसिकताले लगानीकर्ताहरुको मनोबल खस्काइरहेको विश्लेषकहरु दाबी गर्छन्। आफूसँग रहेका नगद जोहो गर्ने ध्याउन्नमा लागेका लगानीकर्ता बजार नबढ्ने पो हो कि भन्ने त्रासले समेत कारोबार रकम उत्साहप्रद हुन नसकेको र स्थिर खरिदचापले परिसूचकमा हिट नगरेको विश्लेषकहरुको दाबी छ।

साताको अन्तिम दिन आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २८ कम्पनीका सेयरमूल्य तटस्थ, २३ कम्पनीका सेयरमूल्य वृद्धि भए भने बाँकी १२३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको देखिन्छ।  

आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये ११ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ।

यो दिन व्यापार समूहमा ०.५३ अंकको बढोत्तरी आएको छ। 

यता बैंकिङ समूहमा १६.३० अंक, विकास बैंक समूहमा १५.८९ अंक, वित्त समूहमा ४.९१ अंक, होटेल्स् समूहमा १.८४ अंक, जलविद्युत् समूहमा १०.३२ अंक, जीवन बीमा समूहमा ९९.५२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३२.६४ अंक, लघुवित्तमा २७.९७ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक, निर्जीवन बीमा समूहमा ७६.७५ अंक र अन्य समूहमा ५.५७ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका ३३ लाख ४४ हजार १११ कित्ता सेयर १ अर्ब ४ करोड ८९ लाख ११ हजार ७९१ रुपैयाँमा कारोबार भयो।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भयो। यो कम्पनीको ७ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भयो। 

यसैगरी पुनर्बीमा कम्पनीको ७ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ९३ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ११ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ४ करोड ८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ९० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको २ करोड ३१ लाख रुपैयाँ र सिद्धार्थ बैंकको १ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भयो।

धेरै कमाउने र धेरै गुमाउनेहरु 

आज दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। दिव्यश्वरीको सेयरमूल्य १० प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। यो दिन जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो।

(नोट : यो समाचार नेप्सेको नयाँ वेबसाइटमा आधारित छ। पुरानो (समाचार तयार पर्दासम्म नचलेको) र नयाँ वेबसाइटमा तथ्यांक फरक परेमा सम्बन्धित निकाय नै जिम्मेवार हुनेछ।)