काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको पूँजीबजार अपेक्षा गरेअनुसार विकास, बिस्तार र आधुनिक हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

‘बजारको नियामकको सन्दर्भमा सेवी(भारतीय पूँजीबजारको नियामक) भन्दा सेबोन एकवर्ष जेठो हो । तर, हामी जेठो नै पूड्के भयौं ।’ 

बजारको नियामक धितोपत्र बोर्डको पूर्व अध्यक्ष समेत रहेका डा. नेपालले छिमेकको भारतीय पूँजीबजारलाई उदाहरणको रुपमा पेश गर्दै यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । 

बजार संचालक नेपाल स्टक एक्सचेञ्ज अपेक्षा अनुसार दौडन नसकेको गुनासो गर्दै उनले भने–‘स्टक एक्सचेञ्जको भवन हेर्दै सर्वसाधारणलाई सेयर किनूँ किनूँ लागोस् न । अन्य देशका स्टक एक्सचेञ्ज प्राइम लोकेसनमा छ । तर हाम्रो स्टक एक्सचेञ्ज पुलको मुन्तिर छ। यसरी पनि कहीँ बजारको विकास र बिस्तार होला त ?’

धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालकोभन्दा एक वर्ष कान्छो भारतको पूँजीबजार बिस्तार र विकास भई अहिले विश्वकै पाँचौ ठूलो पूँजीबजार बनिसकेको उल्लेख गर्दै भने–‘बजारको नियामकको सन्दर्भमा सेवी(भारतीय पूँजीबजारको नियामक) भन्दा सेबोन एकवर्ष जेठो हो । तर, हामी जेठो नै पूड्के भयौं ।’ 

उनले नेपालको पूँजीबजारको जुन हिसाबले आधुनिकीकरण हुनुपर्ने हो, त्यो नसकेको बताए । भारतको सेयर बजारको बिषयमा लिइएको कुनै नीतिले विश्वको पूँजीबजार प्रभावित हुनेसक्ने भन्दै उनले नेपालको बजारलाई समेत सोही स्तरको बनाउनुपर्नेमा जोड दिए । 

पछिल्ला दिनहरुमा सेबोनको रफ्तार केही बढे पनि ठूला लगानीकर्ता अझै पनि पूँजीबजारमा प्रवेश गर्न नसकेका बताए । उनले ऋणपत्र बजारको विकास अति नै सुस्त रहेको टिप्पणी गर्दै यसको विकासबिना समग्र बजारको विकास असंभव रहेको समेत बताए । 

धितोपत्र बोर्ड भौतिक पूर्वाधारमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले आफ्नै भवन निर्माणका लागि प्रभावकारी पहल थाल्न आग्रह गरे । ‘करिब २० खर्बको बजार नियमन गर्ने संस्थाको आफ्नै ठाउँ र भवन नहुँदा त्यसले काम गर्नेहरुमा आत्मविश्वास घटाइदिन्छ ।’ डा. नेपालले भने–‘२ सय बढी सूचिकृत कम्पनीलाई हेर्ने बोर्डमा जनशक्ति पनि ६० जना मात्र छन् भन्ने सुनेको छु, यो पनि गाह्रो कुरा हो ।’ 

उनले ३०० को हाराहारीमा रहेका बैंक तथा बित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्रबैंकमा ९ सय ८० कर्मचारी हुँदा समेत काम गर्न हम्मे हम्मे पर्ने गरेको उदाहरण दिंदै दक्ष जनशक्ति थप गर्ने बिषयमा समेत सोच्न सुझाव दिए । 

उनले देशको पूँजी बजारको विकास र तीव्र विस्तारका लागि फाइनान्सियल टेक्नोलोजी प्रयोगमा विशेष ध्यान दिइनुपर्ने उल्लेख गरे ।