काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली सुरुवातको बिषयमा फेरि लगानीकर्तालाई ढाटेको छ । यसअघि २०७४ कात्तिक २१ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरुवात गर्ने निर्णय गरेको नेप्सेले त्यसको ठीक एकदिनअघि पत्रकार सम्मेलन गर्दै आगामी जेठपछि परीक्षणको कामसुरु हुने र त्यसको केही महिनापछि मात्र कारोबार प्रणालीको पूर्ण कार्यान्वयन हुने बताएको हो ।

नेप्सेको अनलाइन सिस्टम निर्माण गरिरहेको वाइको कम्पनीसँग भएको सम्झौता अनुसार २०७४ बैशाख ६ गतेबाट लागूू भई १४ महिनाभित्र सिस्टम उपलब्ध गराउनुपर्ने शर्त रहेकोमा सोही अवधिमा काम पूरा हुने भन्दै नेप्सेले यसअघि भनिएजस्तो कात्तिक २१ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरुवात गर्न नसकिएको जिकिर गरेको हो । 

‘सम्झौता अवधिभरमा सिस्टम पूरा गरी वाइकोले हामीलाई दिएपछि जेठदेखि हामी परीक्षण थाल्नेछौ ।’ पत्रकार सम्मेलनमा नेप्से प्रमुख चन्द्रसिंह साउदले भने–‘त्यसको केही समयपछि अनलाइन कारोबार प्रणालीको सुरुवात हुनेछ ।’ 

साउदले ४ महिनासम्म अनलाइन कारोबार प्रणालीको काम गर्न नपाइएका कारण यसअघि तोकिएको समयमा काम सम्पन्न नभएको दाबी समेत गरेका छन् । नेप्से करिब ४ महिनासम्म प्रमुखविहीन बनेको थियो ।  

हालसम्म वाइको प्राइभेट लिमीटेडबाट सिस्टम रिक्वायरमेन्ट स्पेशीफिकेसन डकूमेन्ट(एसआरएस डकूमेन्ट) पेश गर्ने कार्य सम्पन्न भइसकेको र यो डकूमेन्टलाई यसै महिनाभित्र स्वीकृति गरिने बताइएको छ । वाइकोबाट प्रस्तुत केही मोड्यूलहरुको डकूमेन्ट यसअघि नै स्वीकृत भइसकेको बताइएको छ । 

एसआरएस डकूमेन्ट स्वीकृत पश्चात सिस्टम डेभलपमेन्टका लागि आवश्यक कोडिङको कार्य हुनेछ । आवश्यक प्रगति विवरणको बिषयमा गत साता वाइको र उसको प्राविधिक टोलीसँग समीक्षा बैठक समेत भइसकेको नेप्सेले जनाएको छ । 

अनलाइन सिस्टमका लागि आवश्यक हार्डवेयर भने नेप्सेले पाइसकेको छ । ‘नेप्सेमा कार्यकारी प्रमुख नहुँदाको अवस्थामा अनलाइन सिस्टम कार्यान्वयन गर्ने सन्दर्भमा केही शिथिलता आएको भए पनि अहिले यो कार्यले गति लिएको यहाँहरुलाई आश्वस्त तुल्याउन चाहन्छु ।’ पत्रकार सम्मेलनमा साउदले भने–‘वाइको कम्पनीसँग कम्पनीसँग भएको सम्झौता अनुसारकै निर्धारित समय सीमाभित्र अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने पहल र प्रयास भइरहेको छ ।’