काठमाण्डौ । दोहोरो अंकले बढिरहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २.९१ अंकले वृद्धि भई १४९९.३२ अंकको नयाँ उचाईं चुमेको छ । 

नेप्सेमा नयाँ रेकर्ड कायम भएसँगै कारोबार रकम पनि १ अर्ब माथि पुगेको छ । बिहीबार १ सय ३४ कम्पनीका १९ लाख ६३ हजार १ सय १७ कित्ता शेयर १ अर्ब ८ करोडमा किनबेच भएको हो । 

बिहीबार पनि बजारलाई बिमा र बैंकहरुले नै माथि उचालेका छन् । बिमा परिसूचक ३३.९२ अंकले बढेको छ भने विकास बैंक समूह ६.८२ अंकले वृद्धि भएको छ । बैकिङ समूहको परिसूचकमा १.३४ को मात्र बढोत्तरी भयो । जलविद्युत, बित्त र होटल समूहको परिसूचक क्रमशः ८.८, ५.९३ र ३.४३ अंकले उक्लिए । अन्य समूह स्थिर रहँदा उत्पादनमूलक समूह चाहि दोहोरो अंकले तल झर्यो । यो समूहको परिसूचक ३४.६६ अंकले ओरालो लाग्यो । 

बिहीबार सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको ९ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको ५ करोड ६३ लाखको शेयर कारोबार भयो भने सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको ५ करोड ५६ लाखको शेयर कारोबार भयो । एभरेष्ट बैंक लिमीटेडको ४ करोड १७ लाखको शेयर किनबेच हुँदा नेपाल बैंक लिमीटेडको ३ करोड ७८ लाख बराबरको शेयर खरीदबिक्री भयो । 

बिहीबार सबैभन्दा बढी कावेली विकास बैंक र प्यासिफिक डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए भने साझा विकास र सेती फाइनान्सका लगानीकर्ताले बढी गुमाए ।

बिहीबार पनि सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनीमध्ये ७ स्थान वाणिज्य  बैंक र ३ स्थान बिमा समूहले ओगटे ।